संखुवासभा । संखुवासभाको चैनपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ नेता तथा कार्यकर्ता अदालत परिसरबाटै पक्राउ परेको छन् । जिल्ला अदालतको चैनपुरको आदेशमा सोमबार विप्लवका ३ नेता धरौटीमा रिहा भएका थिए । प्रहरीले धरौटीमा रिहा भए लगत्तै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकी पोलिटव्यूरो सदस्य उमा भुजेल, तत्कालीन झापा ईन्चार्ज सुमन सिहं पौडेल र मीन प्रसाद पोखे्रललाई प्रहरीले अदालतको गेट अगाडिबाट पुनः पक्राउ गरेको हो ।
उनीहरुलाई अन्य जिल्लामा समेत विचाराधीन अवस्थाका विभिन्न मुद्दा भएका कारण पुन ः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए । उनीहरुलाई असार ११ गते भोजपुर बाट ल्याइएको थियो । जिल्ला न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले एक लाख ३० हजार रुपियाँ धरौटीमा रिहा गरेको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाद प्रसाईले जानकारी दिए ।
जिल्ला अदालतले हातहतियार तथा खरखजाना,विष्फोटक पदार्थ र राज्यविरुद्ध संगठित अपराधको अभियोग मुद्दामा भुजेललाई एक लाख, पौडेल २० हजार र अर्को कार्यकर्ता पोखे्रललाई १० हजार धरौटीमा रिहा गरेको सूचना अधिकारी प्रसाईले बताए । उनीहरुलाई सुनसरी जिल्ला लगिने बताइएको छ ।