बारा । बाराको सिमावर्ती नाकाहरुमा प्रदेश नम्वर २ का डिआइजीको अनुगमनसँगै नाकाहरुमा कडाई गरिएको छ । खुल्ला सिमानाको कारण अवैध गतिविधिको साथै कोरोना महामारीमा नेपाल प्रवेश गर्नेहको रोकथाम गर्न डिआइजी कृष्ण ब्रमहचार्यले निर्देशन दिएका थिए ।
सोमवार विहान विश्रामपुर गाउपालिका वडा नम्वर ३ स्थित मुसहर्वाबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सहायक प्रहरी हवल्दार बहादुर शाहीको कमाण्डमा खटेको टोलीले परवानीपुर गाउँपालिका वडा नम्वर ८ बस्ने रामबाबु महतो र सोही ठाँउ बस्ने अजय महतो रहेको सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदिले जानकारी गराएका छन् ।
पक्राउ परेकाहको साथमा डाइजेप्म ३ पिस, नोफिन ३ पिस, फेनेर्गन ३ पिस, सिरिन्ज २ पिस उनीहरुको साथमा भिभो कम्पनीको र सैमसङ्ग कम्पनीको मोवाइल एक एक थान, नेपाली रु २ सय ८० र निजहरु सवार भएका २ वटा साइकल समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षकले जानकारी गराए ।
खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाई सिमानाकाहरु सुरक्षित गर्ने निर्देशन दिएको डिआइजी ब्रमहचार्यले बताएका छन् । आर्थिक प्रलोभनमा परी देशको अस्तित्व संकटमा राख्ने जोकोहिलाई कडा भन्दा कडा कारवाहि गरिने उनले बताए । लागुऔषधसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहिको लागि नेपाल प्रहरीको जिम्मा लगाइएकोे छ ।





