काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ ।
प्रशिक्षकहरूमा वैज्ञानिक प्रशिक्षण विधधिर पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरूमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरूमा प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरूले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरूको स्तर वृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको विश्वास लिएको छ ।
दुई दिनसम्म सञ्चानल हुने कोर्समा ट्राइयाथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले अनलाइन कोर्समा सहभागिता जनाइरहेका छन् । नेपालमा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्न अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलोपटक हो । प्रशिक्षार्थीहरूलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।
नेपाल ट्राइयथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले छोटो समयमा नै विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलमा लगातार पदक हात पारिरहेका कारण नेपाल सुहाउँदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रूपमा विकास गर्ने र नेपालमा नै दक्षिण एसियाको ट्राइयाथलन एकेडेमी निर्माण गर्ने उद्देश्य रहेको बताए । गत वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ट्राइयथलनबाट दुई स्वर्ण, तीन रजत र एक कांस्य जित्न सफल भएको थियो ।
ट्राइयाथलनका प्रमुख प्रशिक्षकसमेत रहेका महासचिव युवराज सुनुवारले यस खेललाई अझ मजुबत बनाउँदै कोरोनाका कारण खेल गतिविधिबाट टाढा रहेको प्रशिक्षकहरूको स्तर वृद्धि गर्न यस कोर्सले निकै ठूलो मद्दत पुग्ने बताए ।






