मोरङ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । सोमबार मात्र ५७ जना थप संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये मोरङका मात्र ४६ जना छ्न् । सोमबार गरिएको परीक्षणमा मोरङमा ४६ जना संक्रमित थपिएका हुन् भने प्रदेशको राजधानी विराटनगरका २२ जना छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुने विराटनगर ५ का ७७ वर्षीय पुरूष हुन् । उनको सोमबार उपचारको क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासको समस्या लिएर अस्पताल पुगेका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. सिग्देलले जानकारी दिए ।
उनको कुनैपनि ट्राभल हिस्ट्री नभएको बताइएको छ । विहान करिव ९ः३० बजे अस्पताल पुगेका उनको दिउँसो सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
यसैबीच विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् ।
यस्तै न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । कोशी अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । मोरङकै रंगेली नगरपालिकामा पनि २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो । यस्तै कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ ।
यसैगरी सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा ३, धरान र इनरुवामा १र१ जनालाई संक्रमण देखिएको हो । झापामा ६ जनालाई संक्रमण देखिएको छ । झापाको अर्जुनधारमा ५ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।






