उदयपुर । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले प्रतिपक्ष दललाई अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नगर प्रमुख थापाले बिना आधारमा कसैलाई पनि अनियमितताको आरोप लगाउन नपाउने बताए । उनले प्रतिपक्षहरुलाई अनियमितता पुष्टि गर्न चुनौती दिदै आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । नगरपालिकाले भ्रष्टाचारका बिरुद्धमा निरन्तर प्रयास गर्दै शुसासन अभिबृद्धिमा लागेको नगरपालिका हो । हामीले गरेको हरेक गतिबिधि नियमित रुपमा सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई गरि नगर भित्रै नियमित दैनिक पृष्ठपोषण लिन खुला रुपमा कक्षको ब्यवस्था गरिएको छ ।
यहाँ कुनै पनि अनियमितता भएको छैनन् । बिना आधार कपोलकल्पित भ्रष्टाचारको आरोप लगाई प्रोपोगान्डा मच्चाउने पक्षलाई भ्रष्टाचार प्रमाणित गर्न खुला चुनौती दिन्छौ । नगर उपप्रमुख राजकुमारी चौधरीले साउन ७ गते आफनो फेसबुक स्टाटसमा सम्प्रेषण गरिएको स्टाटसलाई आधार मानेर प्रतिपक्ष दलहरुले दैनिक जसो गरेको आन्दोलनको कुनै अर्थ नभएको बताए । उपप्रमुख चौधरीले आफनो फेसबुक स्टाटसमा लेखिएको कुरामा कुनै सत्यता नभएको र उपप्रमुख चौधरीले पनि साउन ११ गते प्रेस बिज्ञप्ती प्रकाशित गरि आफनो धारण सार्वजनिक गरि सकेको नगर प्रमुख थापाको भनाई रहेको छ ।
नगर पालिकाका करार सेवामा कार्यरत कर्मचारी सहायक कम्प्युटर अप्ररेटर सन्तोष पौडेलको बिषयमा सेवाग्राहीबाट पनि गुनासो आएको र उप प्रमुखबाट पनि सिकायत आएकाले उनको करार अबधि थपिएको छैन । कर्मचारी माथि आरोप लागेकाले साउन १७ गतेको नगर कार्यपालिका बैठकले यर्थाथ छानबिनका लागि ३ सदस्यीय समिति बनेको जानकारी दिए । त्यसमा नगरपालिकाका प्रबक्ता तथा बेलका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरेको संयोजकमा वडाध्यक्षद्धय दिनेश्वर चौधरी, जयकुमार राई सदस्य रहने गरि समिति गठन गरि सकेको नगर प्रमुख थापाले जानकारी दिए ।
प्रतिपक्ष दलले गरेको आन्दोलनको कुनै माग नरहेको अर्मूत रुपमा आरोप लगाएको र आरोप प्रमाणित गर्न आन्दोलनकारीलाई नगर प्रमुख थापाले चुनौती दिएको छ । नगर प्रमुख थापाले कोरोनाले आक्रान्त बनेको बेलकामा स्थानीय प्रशासनले सिल गरेको अबस्थामा प्रतिपक्ष दलले भिड जम्मा गरेर आन्दोलन गर्नु भनेको बेलका नगरपालिकालाई कोरोनाको चुनौति थप्नु बाहेक अरु केही होइन । यहाँ समुदाय स्तरमा कोरोना फैलि सकेको छ, समुदायका ९ जना ब्यक्तिलाई कोरोना पुष्टि भई सकेको यो अवस्थामा आन्दोलन गर्नुको कुनै अर्थ छैन । समुदायलाई झन जोखिममा पार्नु हो ।
बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसमा व्यक्त कुरालाई लिएर राजनीति गर्ने उद्देश्य बाहेक अरु कुनै माग नरहेको बताए । उपप्रमुख चौधरीले विज्ञप्ती प्रकाशित गरी आफुले फेसबुकमा लेखेका कुराहरुले नगरपालिकाका बिभिन्न क्षेत्रमा परेका चोटप्रति दुख व्यक्त गरेकी छिन् । ‘काम गर्ने सिलसिलामा आफुबाट भएको कमजोरीलाई सच्याउने प्रतिबद्धता सहित आत्मालोचना गर्दछु’ उपप्रमुख चौधरीले विज्ञप्तीमा भनेकी छिन्, ‘मैले उठाएका विषय नगर प्रमुखले म काठामाण्डौ रहेको बेला सम्बोधन गरि सकेको अवस्थामा ढिलो गरि जानकारी हुन आएकाले यो अवस्था उत्पन्न भएको हो ।’
नेपाल कम्युनिष्ट पाटी (नेकपा) नगर कमिटी बेलकाका अध्यक्ष मनोज तामाङले प्रतिपक्ष दलले बेलका सरकार र नेकपा बिरुद्ध अनियमितता गरेको झुठो आरोप लगाएकाले त्यसलाई पुष्टि गरेर देखाउँन चुनौती दिए । बिना आधार कसैलाई अनियमितताको आरोप लगाएकोमा खेदजन छ । निराधार आरोपले पाटी र बेलका नगरपालिकाको बदनाम भएको हुँदा यसलाई पुष्टि गर्न खुल्ला चुनौती दिए । बेलका नगरपालिकामा भ्रष्टाचार भएको भन्दै विपक्षी नेपाली कांग्रेस सहितका दलले गरेको प्रदर्शनमा दोहोरो झडप हुँदा प्रहरी सहित केही आन्दोलनकारी घाईते भएको छ । दोहोरो झडपमा एक प्रहरी जवानसहित दर्जन बढी घाइते भएका छन् ।
नगर प्रमुख दुर्गाकुमार थापा सहितका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थीक अनियमितता भएको भन्दै कांग्रेस सहितको विपक्षी दलको गठबन्धनले केहि दिनयता नगरपालिका घेराउ गर्दै आएको थियो । नगरपालिका घेराउ गर्न जाँदा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो । कोरोना जोखिम भएकाले प्रर्दशन, भेला र सभा गर्न निषेध गरिए पनि ठूलो संख्याको उपस्थितीमा प्रर्दशन भएपछि नियन्त्रण गर्न खोज्दा झडप भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । ‘प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास भयो,’ प्रहरी उपरीक्षक दाहालले भने, ‘त्यसै क्रममा झडप हुँदा एक प्रहरी जवान र केहि प्रर्दशनकारी घाइते भएको हो ।’






