मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । बुधबार विराटनगर ९ गुद्रीका एकजना पुरुष र रंगेली ८ का एकजना पुरुषको मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । रंगेलीका ४५ वर्षीय पुरुषलाई बिहान उपचारका लागि कोशी अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ आएको अस्पतालको आइसोलेशनका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले जानकारी दिए ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको र त्यसअघि सुनवर्षीका एक पुरूषको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।
९० वर्षीया वृद्धासहित प्रदेश १ मा ५७ जना डिस्चार्ज, १८ जना नयाँ संक्रमित
यसैगरी प्रदेश १ मा बुधबार ९० वर्षीय वृद्धासहित ५७ जना कोरोनालाई जित्दै डिस्चार्ज भएका छन । भने १८ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार कोरोनामुक्त भई विराटनगर ६ की ९० वर्षीया बृद्दा सहित ५७ जना डिस्चार्ज भएका हुन् । मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गरे । बुधबार डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।
यस्तै प्रदेश १ मा बुधबार ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुशार मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा थप संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ६ पुरुष, ४ महिला, सुनवर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।






