जनकपुरधाम । लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा गएको टोलीले सदन अवरुद्ध हुँदा नीति निर्माणदेखि सरकारको गति ठप्प भएको भन्दै मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन् ।
ज्ञापनपत्रमा उपभोक्ता समितिलाई समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएकोले समस्या समाधान गरी संसद बैठक सञ्चालनको वातावरण निर्माण गर्न, चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सार्वजनिक नगरेको भन्दै प्रदेशको सबै निर्वाचन क्षेत्रमा पर्ने गरी यथाशीघ्र रातो किताब सार्वजनिक गर्न, संघीय सरकारद्वारा हस्तान्तरित जनता आवास कार्यक्रममा ढिला सुस्ती नगर्न, सबै निर्वाचन क्षेत्रमा घर हस्तान्तरण गरी व्यवस्थित रुपले कार्यान्वयन गर्न, अख्तियारी नपुगेको जिल्लामा अख्तियारी पठाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।
यसैगरी प्रदेश सरकारबाट पालिकाहरुमा पठाइने सर्शत अनुदानको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यले सिफारिस गरेको योजना कार्यान्वयन गराउन र प्रदेशभित्र सञ्चालनमा रहेका सामुदायिक कलेजहरुका लागि निर्माण तथा सञ्चालन खर्चको व्यवस्था गर्न समेत नेकपाले माग गरेको छ ।
गत आर्थिक वर्षझैं यस आर्थिक वर्षको अन्त्यमा पनि सबै कार्यक्रम बाँडने र समस्या बल्झाउने नियत सरकारले बोकेको हो कि भनेर नेता मण्डलले मुख्यमन्त्री राउतसँग जवाफ मागेका छन् ।
नेकपाले प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट किसानका लागि प्रदान गरिने अनुदान, कार्य्विधि तयार गरी निष्पक्ष तथा पारदर्शी ढंगले किसानलाई वितरण गर्न समेत माग गरेको छ । प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल वितरण लगायतका कार्यक्रम एक पक्षीय र पूर्वाग्राही भएकोले यस्ता कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको भूमिका कायम गराउन र प्रदेशमा वनको चोरी निकासी बढ्नुका साथै खोलाहरुमा अनाधिकृत रुपले नदीजन्य पदार्थको दोहन भइरहेकोले कडाइका साथ नियन्त्रण गर्न ज्ञापनपत्रमार्फत नेकपाले प्रदेश सरकारसँग माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले सदन सञ्चालनका लागि आफू प्रयासरत रहेको र चाँडै प्रदेशसभा बैठक बस्ने विश्वास दिलाए । नेकपाले उठाएको मागहरु गम्भीर र यथार्थ रहेको भन्दै यसलाई पूरा गराउन समेत मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाए ।
आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।