वीरगन्ज । सुन्धाराको ‘सुनकाण्ड’ अर्थात् स्कार्पियोबाट फालिएको झोला बरामद भएपछि फरार मुख्य योजनाकार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई बारा प्रहरीको सहयोगमा पर्सा प्रहरीले बाराको निजगढ बजारबाट पक्राउ गरेको हो ।
बाइकमा आफ्नो गन्तव्य तर्फ गइरहेका अंसारी चढेको बाइकलाई सिभिल प्रहरी चढेको अर्को बाइकले घेराहाली बाइकबाट थुतेर पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए । विगतमा भारतीय जाली नोटको पनि कारोवारी अंसारीलाई बारा, पर्सामा नराखी बिहिबारनै काठमाण्डौ चलान गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।
बारा प्रष्टोखा घर भएका अंसारीको बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट वारदात भएको झोला फालेर भागेका थिए भने उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गरिरहेको थियो । काठमाण्डौबाट बाहिरिएको प्रहरीले सूचना पाए लगत्तै बारा, पर्सामा बस्ने अंसारीलाई जिल्लाको प्रहरीसँग अपराध महाशाखाले सहकार्य बढाएको थियो । सोही कारण अंसारी बिहिबार बिहानै निजगढमा समातिएका हुन् ।
बाइकमा आफ्नो गन्तव्य तर्फ गइरहेका अंसारी चढेको बाइकलाई सिभिल प्रहरी चढेको अर्को बाइकले घेराहाली बाइकबाट थुतेर पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए
अपराध महाशाखाको निगरानीमा रहेका अंसारी पर्सा बारामा लुकेर बसेको जानकारी प्रहरीलाई प्राप्त पछिल्लो सूचना अन्ततः उनीहरुका लागि काफी भयो । प्रहरीले सोही सूचनाका आधारमा खोजी गर्दै जाँदा अंसारी उमिकन सकेनन् । ‘दुवै जिल्लाका प्रहरीको समन्वय थियो ।’ बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले भने । पक्राउ परेका अंसारीलाई सार्वजनिक गर्ने कि नगर्ने भन्ने दुवै जिल्लाका प्रहरी अन्यौलमा थिए ।
पहिले पनि कैद भुक्तानपछि छुटेका थिए अन्सारी
२०५८ साल असार २८ मा बरामद भएको ५४ लाख ९५ हजार भारतीय नक्कली नोट कारोवारदेखि उनको नाम जोडिदै आएको थियो । जाली नोट प्रकरणमा जेल जीवन विताएर छुटेका अंसारी फेरि अवैध सुन चाँदी र पेस्तोल काण्डमा जोडिएका छन् । भारतीय जाली नोट काण्डमा उनी २०७२ जेठ ३० मा पक्राउ परेका थिए । जाली नोट काण्डमा त्यसै वेलादेखि उनी कैद भुक्तान गरी जेल बाहिर निस्किसकेका हुन् ।
जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको जनाइएको छ । जेल जीवन विताएर छुटेपछि भने उनी धातुको कारोवारमा पनि जोडिएको उनलाई नजिकबाट चिन्नेले जनाएका छन् ।
अंसारीकै स्कार्पियो प्रयोग भएको सुनधारा सुनकाण्डमा साढे १५ केजी सुनलेपन चाँदी र आधा केजी सुन बरामद भएको थियो । त्यो समयमा स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट दुईथान पेस्तोल समेत बरामद गरेको प्रहरीले जनाएको थियो । सुन–चाँदी र पेस्तोल काण्डमा आफ्नो स्कार्पियो प्रयोग भएको र प्रहरीले पिछा गर्न थालेपछि भने अंसारी ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर भागेको थिए ।






