काठमाडौं । नेपालको अस्कर कलेज अफ फिल्म स्टडिजमा चलचित्र पढिरहेका विद्यार्थीलाई लकडाउनसहित विभिन्न कारणले शुल्क तिर्न गाह्रो भइरहेको थियो । यसैक्रममा यो कलेजमा अध्ययनरत १० जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन् ।
इन्फिनिट स्टुडियो र अस्कर कलेजले २०७३ सालदेखि सहकार्य गर्दै आइरहेका छन् । कलेज र स्टुडियोबीच अरू कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ । यो अवार्डअन्तर्गत विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न छात्रावृत्ति दिन लागेको हो ।
अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि १० जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका हुन् ।
सो कलेजका प्रिन्सिपल पौडेलका अनुसार ३५ हजार रकमसहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसरी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् । यसअघि स्टुडियोले पाँच जनालाई बर्सेनि छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।
‘विद्यार्थीहरूलाई यस वर्षबाट १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ति पहिलो र दोस्रो वर्षमा चार÷चार जनालाई र अन्तिम वर्षमा दुई जनालाई प्रदान गरिने भएको छ ।’ प्रिन्सिपल पौडेलले भने, ‘कोभिड–१९ का कारण लकडाउनलगायतले आर्थिक समस्या भोगिरहेका विद्यार्थीलाई थोरै भए पनि राहत होस् भनेर यो अवार्ड दिन लागिएको हो । भविष्यमा यसले निरन्तरता पाउन पनि सक्छ र नपाउन पनि, अहिले नै भन्न सकिन्न ।’
१६ वर्षअघि स्थापना भएको कलेज विभिन्न उतारचढाव खप्तै आजको अवस्थासम्म आएको प्रिन्सिपल पौडेलले बताए । ‘जतिबेला यो कलेज सुरु भयो, त्यतिबेला नेपाली समाजको मनोविज्ञान फिल्म र यसको अध्ययनलाई लिएर सकारात्मक थिएन । तर, आज यसमा व्यापक परिवर्तन आएको महसुस गरेका छौं ।’ पौडेलका अनुसार अहिले स्नातकको फिल्म पढाइको कोर्स तीन वर्षबाट बढाएर चार वर्षको बनाइएको छ ।






