इलाम । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको इलाम सदरमुकाममा फन पार्क निर्माण शुरु भएको छ । चार करोड ४४ लाख ७३ हजार रुपैयाँको लगानीमा फनपार्क निर्माण थालिएको हो ।
फनपार्क निर्माणमा लाग्ने ७० प्रतिशत रकम नगर विकास कोषले ऋण लगानी गर्नेछ । नगर विकास कोषसंग नगरपालिकाले तीन करोड ३५ लाख २० हजार रुपैयाँको ऋण सम्झौता गरेको छ । नगरालिकाले फनपार्क निर्माणमा एक करोड ४३ लाख ७० हजार रुपैयाँ लगानी गर्ने इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरगाईले जानकारी दिए ।
फनपार्क बनाउन नगर विकास कोषले आठ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको हो । निर्माण सकिएको २० वर्षमा नगर विकास कोषको सावा र ब्याज भुक्तानी गरिसक्नु पर्नेछ । सम्झौता अनुसार अर्धवार्षिक रुपमा अधिकतम २४ लाख ५० हजार रुपैयाँ र न्युनतम २० लाख रुपैयाँको किस्ता इलाम नगरपालिकाले साँवा र ब्याज बापतको भुक्तानी नगरविकास कोषलाई गर्नुपर्ने छ ।
आदर्श माविको नाममा रहेको तीन रोपनी दुई आना जग्गामा फनपार्क निर्माण थालिएको हो । निर्माण पुरा भएको पाँच वर्षसम्म त्यसको सञ्चालन नगरपालिकाले गर्ने विद्यालयसंगको सम्झौता छ । पाँच वर्षपछि फनपार्कमा रहेका भौतिक संरचनासहित विद्यालयलाईनै स्वामीत्व हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि विद्यालयलेनै फनपार्क सञ्चालन गर्ने र त्यसको आम्दानी पनि विद्यालयकै हुने इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरगाईंले बताए । पाँचवर्ष पछि समेत नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नुपर्नेछ ।

फन पार्कमा आकर्षक लाइट सहितको पिलर, विभिन्न ज्ञानवर्दक सामग्री सहितको ‘वाल अफ नलेज’, मिनि रेल, बगैचा, टेम्पो लाइट, पिङ, उफ्रिने घोडा, स्प्रिङ भएको उफ्रिने खेल, चिप्लेटी, सानो पोखरी, बस्ने ठाउँ, फुटपाथ, सानो पोखरी, चिया खाजा खाने ठाउँ, टिकट काउन्टर, सौचालय लगायतका भौतिक संरचना निर्माण गरिने छन् ।
२०७८ को असार मसान्तसम्ममा निर्माण पुरा गर्ने लक्ष्य राखिएको पनपार्कबाट ४५ लाख ५६ हजार रुपैयाँ बार्षिक आम्दानी हुने अनुमान गरिएको छ । त्यसको व्यवस्थापनमा २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने र १७ लाख रुपैयाँ रकम बचत हुने नगरपालिकाको अनुमान छ ।






