उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी तयारी अवस्थामा राख्न उदयपुरमा ३१ जना कोरोना भाइरसका संक्रमितको ब्लड गु्रप (रक्त समुह) छुट्याइएको छ ।
नेपालकै पहिलो इपिसेन्टरको रुपमा रहेको त्रियुगा नगरपालिका–३ भुल्केस्थित कोरोना संक्रमणबाट निको भएकाहरुबाट रगत लिएका हुन् । प्राबिधिक टोलीले कोरोना भाइरस इपिसेन्टर बनेको त्रियुगा नगरपालिका– ३ भुल्के क्षेत्रका संक्रमणबाट निको भएकाको रगत लिइ समूह छुट्याउने काम गरि राखेको स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
स्वास्थ्य कार्यालयबाट गएको प्राविधिक टोलीले कोरोना उपचार केन्द्र बेल्टारमा रहेका सबैको रक्त समूह छुट्याउने काम गरेको थियो । संक्रमितको उपचारमा सहज बनाउन कार्यालयले जिल्लाका सबै संक्रमित र निको भएर घर फर्केकाहरुको ब्लड गु्रपको विभाजन गर्न थालेको हो । संक्रमण दिनदिनै बढ्दै जाँदा संक्रमितको उपचारका लागि रगतको जटिलता देखिएपछि कार्यालयले पहिलो पटक रगत समूह छुट्याउन सुरु गरेको सुवेदीले जानकारी दिए ।
उनले भने, ‘संक्रमितको प्लाज्मा थेरापी गर्नु अघि कोरोना निको भएका बिरामीको रगत नै चाहिने भएकाले तयारी अवस्थामा रहन सबैको ब्लड गु्रप छुट्याउन थालिको हो ।’ उनले पहिलो चरणमा उदयपुर कोभिड उपचार केन्द्र बेल्टारमा रहेका २२ र त्रियुगा नगरपालिका– ३ भुल्केका ९ जनाको रक्त समूह छुटयाएको र दोश्रो चरणमा निको भएर घर फर्किएकाहरुको क्रमिक रुपमा छुट्याउन सुरु गरिएको बताए ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले प्लाज्मा दान गर्नका लागि आवश्यक गृह कार्य सहित तयारी थाल्ने निर्णय भए अनुसार रक्त समूह छुट्याउने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । स्वास्थ्य कार्यालयले संक्रमित बिरामी र निको भएकाहरुको विवरण अद्यावधिक गर्ने र आवश्यक परेको अवस्थामा संक्रमित बिरामीको उपचारका लागि स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिको विवरण अद्यावधिक गरी सुरक्षित राख्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।
प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको मात्र रगत आवश्यक पर्ने बीपी प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संजिवकुमार शर्माको भनाई रहेको छ । ‘कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन हुने भएकाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ’, उनले भने ।