धनकुटा । धनकुटामा आज एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा १३ प्रहरी र ६ जना सर्वसाधरण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । संक्रमित सबै प्रहरी जवान पुरुष हुन् । उनीहरु हालै सरुवा भएर धनकुटा आएका हुन् । सरुवा भएर आएका दुई जना प्रहरीमा यस अघि नै संक्रमण पुष्टि भईसकेको छ ।
नयाँ थपिएका संक्रमितमा दुरसञ्चार प्राधिकरणमा काम गर्ने चार जना र धनकुटा बजारका दुई जना छन् । धनकुटामा एकैदिन संक्रमण पुष्टि भएको यो नै सबैभन्दा ठूलो संख्या हो । योसँगै धनकुटामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३९ पुगेको छ । जसमध्ये १७ जना निको भइसकेका छन् । दुई जनाको मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र एक जनाको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।