आर्सनल कम्युनिटी सिल्ड च्याम्पियन

लन्डन । प्रिमियर लिग च्याम्पियन लिभरपुलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै लन्डन क्लब आर्सनल इंग्लिस सिजनको सुरुवातको रूपमा लिइने कम्युनिटी सिल्डको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै यो सिजन दोस्रो उपाधि जित्न सफल भएको हो ।

कम्युनिटी सिल्ड प्रिमियर लिग च्याम्पियन र एफए कप च्याम्पियन टोलीबीच खेल्ने चलन छ । लिभपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बन्दा आर्सनलले चेल्सीलाई पराजित गर्दै एफए कपको उपाधि जितेको थियो । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । १२औं मिनेटमा बुकायो साकाको पासमा औबामेयाङले गोल गरेका थिए ।

उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन् । दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । मोहमद सलाहले अगाडि बढाएको बल भिडभाडमा क्लियर हुन नसक्दा मिनामिनोले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन् । लिभरपुलका मोहमद सलाह र फाबिन्होले गोल गर्दा आर्सनलका राइस नेल्सन र एन्सले मेटल्यान्ड नाइल्सले गोलर गरे । लिभरपुलको तेस्रो प्रहार गर्न आएका युवा फरवार्ड रियन ब्रेस्टरको प्रहार क्रसबारमा लाग्दै बाहिरिएपछि आर्सनलले अग्रता लिन अवसर पायो ।

उक्त अवसरलाई सेड्रिक सोआरेसले गोल गर्दै सदुपयोग गरे । त्यसपछि मिनामिनो र कर्टिस जोन्सले गोल गरेपनि आर्सनलका डेविड लुइज र औबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे । आर्सनलले १६औंपटक कम्युनिटी सिल्ड उपाधि जितेको हो । लिभरपुल अघिल्लो सिजन पनि पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन