बनेपा । काभ्रेपलाञ्चोक जिल्लालाई बुधबार साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काभ्रे जिल्लालाई साक्षर भएको घोषणा गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले साक्षर घोषणा गर्न मापदण्ड सबै पूरा भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न मन्त्री पोखरेल समक्ष प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेसँगै मन्त्री पोखरेलले काभ्रेलाई साक्षर भएको पत्र पढेर घोषणा गरिएको थियो ।
काभ्रेको ६ नगरपालिका र ७ गाउँपालिका साक्षर घोषणा भएसँगै जिल्लालाई घोषणा गरिएको हो । नेपालको साक्षर जिल्ला घोषणामा काभ्रे ५२ औं स्थानमा भएको छ । कुल जिल्लामा ९६.४८ प्रतिशत साक्षर भए पछि जिल्लालाई साक्षर घोषणा गरिएको थियो । जिल्लामा ९६.४८ प्रतिशत नागरिक साक्षर गर्नको लागि स्थानीय तहले वडामा सिकाई केन्द्रका कक्षाहरु सञ्चालन गरी साक्षर जिल्ला घोषणा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयमा शिक्षा गुणात्मक छ कि छैन भन्ने कुरा शिक्षकमा निर्भर हुने बताएका छन् । उनले भने, ‘अब शिक्षा गुणात्मक छ कि छैन भन्ने कुरा शिक्षकमा गुणात्मक छ कि छैन भन्ने कुराले निर्धारण गर्दछ ।’ शिक्षालाई सिपसँग जोडेर सिपलाई समृद्धिसँग जोड दिनुपर्ने मन्त्री पोखरेलले बताए । कार्यक्रममा पोखरेलले नेपालमा ८२ प्रतिशत मात्र साक्षर जनसंख्या भएकोले २ बर्षभित्रमा साक्षर नेपाल घोषणा गर्ने गरी तयारी गरिरहेको बताए ।
संघीय सांसद गंगाबहादुर लामाले साक्षर जिल्ला घोषणा भएकोमा जिल्लाकै गौरबको विषय बनेको पूर्ण साक्षर बनाउन सबैले जोड् दिनुपर्ने बताए । वागमती प्रदेश सांसद लक्ष्मण लम्सालले सबैको छोराछोरी सार्वजनिक बिद्यालयमा पढाउने वातावरण बनाउनको लागि सरकारले ऐन नै बनाएर जानुपर्ने बताए । शिक्षा क्षेत्रमा गुणस्तरमा बृद्धि गर्न उत्पादनसँगै रोजगारमूलक शिक्षा लिने वातावरण बनाउनुपर्ने सांसद लम्सालले बताए ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु साक्षर जिल्ला घोषणा गर्न ढिलाइ भएको बताए । राणा शासन कालमा नै यो जिल्लामा ३ वटा विद्यालय खुलेको थियो, यो अवस्था हेर्ने हो भने हामी ५२ औं स्थानमा भएर धेरै पछि भएको बताए ।
जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएकाले काभ्रे जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको हो । साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेका संयोजक उद्धव केसीका अनुसार अनुसार ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्य काभ्रे जिल्लामा ३ लाख ६० हजार ५ सय ६० जना साक्षर भएका छन् । साक्षर प्रतिशत ९६.४८ प्रतिशत रहेको छ । १३ हजार १ सय ६८ जना अर्थात ३.५२ प्रतिशत भने अझै निराक्षर रहेको केसीले जानकारी दिए । यस अघि काभ्रेको १३ वटै स्थानीय तहमा साक्षर पालिका घोषणा भइसकेको छ ।
जिल्लाको मण्डन देउपुर नगरपालिकामा ९५.२७ प्रतिशत साक्षर रहेको छ । खानीखोला गाउँपालिकामा ९६.७१ प्रतिशत साक्षर रहेको छ । धुलिखेल नगरपालिकामा ९८.०७ प्रतिशत साक्षर रहेको छ । बनेपा नगरपालिकामा ९७.०९ प्रतिशत साक्षर रहेको छ । तेमाल गाउँपालिकामा ९५.९७ प्रतिशत साक्षर रहेको छ । भुम्लु गाउँपालिकामा ९५.०६ प्रतिशत साक्षर रहेको छ । पनौती नगरपालिकामा ९५.०५ प्रतिशत साक्षर रहेका छन् ।
बेथानचोक गाउँपालिकामा ९५.८१ प्रतिशत साक्षर रहेको छ । जिल्लाकै डाडापारी बिकट महाभारत गाउँपालिकामा ९७.९८ प्रतिश साक्षर रहेको छ । नमोबुद्ध नगरपालिकामा ९६.४० प्रतिशत साक्षर रहेको छ । पाँचखाल नगरपालिकामा ९५.४३ प्रतिशत साक्षर रहेको छ । रोशी गाउँपालिकामा ९८.९८ प्रतिशत साक्षर रहेको छ । चौंरीदेउराली गाउँपालिकामा ९६.८३ प्रतिशत शिक्षित रहेको छ । साक्षर जिल्ला घोषणा गरिए संगै स्थानीय तह साक्षर घोषणा गर्न सहयोग गरिएको जिल्ला समन्वय समितिले स्थानीय तह नगरपालिका र गाउँपालिकालाई सम्मानपत्र वितरण गरिएको थियो ।