मोरङ । विराटनगरका पत्रकारहरूले प्रदेश सरकारलाई कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न सुझाव दिएका छन् । बिहिबार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो सुझाव दिएका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले चाल्नुपर्ने कदमका विषयमा राय मागेका थिए ।
कार्यक्रममा पत्रकारहरूले कोरोना नियन्त्रणका नाममा लामोसमय मुलुकलाई ठप्प पार्दा दीर्घकालीन रूपमा असर पर्ने तर्फ सचेत गराएका छन् । सवैको ध्यान कोभिड १९ मा केन्द्रित हुँदा अन्य क्षेत्र अझ जटिल रुपमा थलिएको तर्फ ध्यानाकर्षण गराएका छ्न ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले अन्य क्षेत्र जस्तै संचार क्षेत्र पनि प्रभावित भएको बताए । उनले प्रदेशका ३० भन्दा बढी दैनिक पत्रिका, ७० भन्दा बढी साप्ताहिक पत्रिका र कतिपय रेडियोहरु बन्द रहेको भन्दै सरकारले त्यस्ता सञ्चार गृहको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेश सरकारले प्रेस सम्वन्धि कतिपय कानून बनाएर आवश्यक कामलाई व्यवस्थित गर्न उनले सुझाव दिए ।
अग्रज पत्रकार मोहन भण्डारीले नागरिकहरुलाई महामारीको सचेत गराउँदै अनुशासित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने बताए । यस्तै समानुपातिक विज्ञापन नीति र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमकै अधिकार हो भन्ने विषयलाई कार्यान्वयन गर्न जोड दिए । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले कोरोनाको कारण संकटमा परेका सञ्चारकर्मीको लागि फेलोसिपको कार्यक्रम ल्याउन सुझाब दिए । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संचारक्षेत्रलाई संघीयताको अनुभुती हुनेगरी काम गर्न सुझाव दिए ।
प्रेस संगठन नेपाल मोरङका संयोजक सुदिप कोइरालाले लकडाउनले जनतामा प्रत्यक्ष प्रभाव परेका उदाहरण प्रस्तुत गर्दै लकडाउनको विकल्प सोच्न र कोरोनाकै कारण अरु बिरामीले अस्पताल नपाएर ज्यान गुमाउनुपर्ने घटनाको अन्त्य गर्न सुझाव दिए । संगठनका सहसंयोजक गोकुल पराजुली,पत्रकारहरु मिनल बुढााथोकी, श्यामसुन्दर सुतिहार, तारा आचार्य, ब्रम्हदेव यादवलगायतले कृषकले मल नपाएको, पत्रकारिता क्षेत्रमा परेको प्रभाव र समाजमा आउने गुनासाका ’boutमा अवगत गराई समाधान गर्न सुझाब दिएका छन् ।
पत्रकारहरूको राय संकलन पछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा र सतर्कता अपनाएर अब जनजीवनलाई सामान्य बनाउँदै लैजाने तर्फ ध्यान दिने बताए ।
मन्त्री कार्कीले सबै क्षेत्रसँग छलफल गरेर प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ निर्णयहरु लिने तयारी गरिरहेको जानकारी दिए ।
प्रदेश राजधानी विराटनगरका पत्रिकाका सम्पादक, राष्ट्रिय पत्रिकाका ब्यूरो प्रमुखहरु, पत्रकार महासंघ प्रदेश र मोरङ जिल्ला समिती, पत्रकारहरुका संगठनका प्रमुखहरुसंगको छलफल भएको हो ।






