मोरङ। प्रदेश १ सरकारले कोभिड- १९ नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न सरोकार राख्नेहरुसँग सुझाव संकलन गरेको छ । बिहिबार प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सर्वदलीय छ्लफल गरि सुझाव संकलन गरेका हुन् । दिउँसो पत्रकारहरूसँग सुझाव लिएका मन्त्री कार्की साँझसम्म विभिन्न राजनितिक दल र अन्य पक्ष सँग राय लिन ब्यस्त भए ।
कोरोना भाईरस नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सर्वदलीयका सहभागीहरूले सुझाव दिएका छन् । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले सबै क्षेत्र प्रभावित भएको गुनासो आएपछी प्रदेश सरकारले उपयुक्त विकल्प छान्न राय संकलन गरेको हो ।
सम्पन्न छलफलमा राजनितिक दलका नेता तथा प्रतिनिधिले प्रदेश सरकारले चालेका कदमको प्रशंसा गर्दै अब भने जनजीविकालाई पनि ध्यान दिन सुझाव दिएका छन् । यस्तै सर्वदलीय छलफलमा आइसोलेशनको अपर्याप्तता, भ्यान्टिलेटर सहितको उपचारलगायतका क्षेत्रमा सुधार गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
यस्तै सर्वदलीय वैठकले कोभिड १९ नियन्त्रणमा सक्रिय रहँदाकै अवस्थामा आफै संक्रमित हुन पुगेका सामाजिक विकास मन्त्री जीवन घिमिरेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
छलफलमा आएका राय संकलन गरेका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले प्राप्त रायकै आधारमा प्रदेश सरकारले अबको कदम चाल्ने विश्वास दिलाए ।
छलफलमा नेकपा प्रदेश १ अध्यक्ष देबराज घिमिरे, प्रदेश सभा प्रतिपक्ष दलका नेता राजिव कोइराला, नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली कांग्रेस मोरङ सभापति डिग बहादुर लिम्बू, राप्रपा प्रदेश अध्यक्ष राम थापा, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका विष्णु तुम्बाहाम्फे संघीय, जनता समाजवादी पार्टीका जिल्ला नेता राजकुमार यादव, लिम्बुवान मंचका प्रदेश उपाध्यक्षलगायतको उपस्थिती थियो । प्रदेश सरकारले पछिल्लो समय विभिन्न क्षेत्रसँग राय लिदै आएको छ ।






