इटहरी । सुनसरीमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेका छन् । सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । जिल्लामा शुक्रबार मात्रै ४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिइन् ।
उनका अनुसार शुक्रबार धरानमा ३ महिला, १९ पुरुष सहित २२ जना, इटहरीमा १ महिला, ४ पुरुष गरी ५ जना, दुहबीमा ६ महिला, ३ पुरुष गरी ९ जना, कोशी गाउँपालिकामा १ महिला ३ पुरुष सहित ४ जना, इनरुवा नगरपालिकामा १ जना पुरुष गरी जम्मा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सनुसरीमा शुक्रबार थपिएका ४१ सहित कोरोना संक्रमितको संख्या १ हजार १ सय ८४ पुगेको उनले बताइन् ।
जिल्लामा अहिले ६ सय ८० जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय ९८ जनाले कोरोना जितेर अस्पताल र होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् । त्यस्तै, अहिलेसम्म जिल्लामा ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । जिल्लामा केही दिन अगाडिसम्म निषेधाज्ञा गरिएपनि कोरोना संक्रमितको संख्या झनै बढ्दै गएपछि निषेधाज्ञा खुकुलो बनाइएको छ ।
सुनसरीको इटहरी, धरान, दुहवी, इनरुवा लगायतका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक महिना अगाडि जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । उद्योग बाणिज्य संघ र अन्य ब्यापारीहरुले निषेधाज्ञा खुकुलो बनाउँन सुझाव दिएसँगै अहिले जिल्लाका सबै स्थानमा दिउँसो २ बजेसम्म पसल, बजार खोल्न अनुमति दिइएको छ ।






