इटहरी । अहिले लकडाउनका कारण आम मानिस समस्यामा छन् । समस्यामा मात्रै नभई कतिले त प्राण त्याग नै गरिहरेका घटना पनि विद्यमान छ । सरकारले मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई आवश्यक सहयोग गर्न नसक्नु र बेरोजगारी भएर बसेकाहरुलाई आवश्यक रोजगारीको अवसर सृजना गर्न नसक्दा मृत्युका घटना बाहिरिदैँ आएका छन् ।
यसैक्रममा मोरङको सुन्दरहरैँचा १० का अशोक दर्जीले एक पेट चामल नहुँदा प्राण त्याग गर्न बाध्य भएको घटना यतिबेला समाजिक सञ्जालमा भाइरल देखिन्छ । लामो समयदेखि मजदूरी पेशा अंगाल्दै आएका दर्जीले कोरोना महामारीका कारण आफूले काम गर्न नपाएको र परिवारको एक पेट भर्न नपाएपछि बाध्य भएर आफ्नो जीवन त्याग गरेका छन् ।
सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय दर्जीले भोकमारीको पीडा सहन नसकेर आफ्नै घरमा बुधबार आत्महत्या गरे । आफ्नो घरमा आवश्यक रकम चलाउन समस्या हुनु र खान लगाउन समेत मुस्किल भएका कारण दर्जीले आत्महत्या गरेका हुन् । वैदेशिक रोजगारीका लागि भारत गएकी अशोककी श्रीमती उतै अलपत्र अवस्थामा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पु¥याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले उनी दिल्लीमा अलपत्र परेकी छन् ।
मुलुकमा लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि मात्रै उनले निर्माणको काम पाएका थिए । राम्रै गरी घरखर्च चल्दै आएपनि लकडाउन भएपछि परिवारमा खान लाउन अभाव भयो । सोही कारण उनले आफ्नो प्राण त्याग गर्नुपरेको सुन्दरहरैँचा वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले जानकारी दिए ।
‘सुकुम्बासी बस्तीमा बस्दै आएका सामान्य परिवारका मानिस हुन्,’ वडाध्यक्ष थापाले राजधानीसँग फोन सम्पर्कमा भने, ‘मजदूरी गरेर खान मानिस हुन्, उनको पारिवारिक ब्याकराउण्ड त थाहा छैन, तर खानै नपाएर मर्ने कुरा त थिएन ।’ थापाका अनुसार दर्जीका चार सन्तान छन् । २१, १७ र १५ बर्षीया छोरी तथा १३ बर्षका एक छोरा रहेका छन् । २१ बर्षीया छोरीको भने विवाह भइसकेको छ भने एकजना छोरी शारीरिक रुपमा अशक्त रहेकी छिन् ।
‘श्रीमती एकजना रहेपनि भारतमा थिईन्, मजदूरी गरेर खाने मान्छे हुन्,’ उनले भने, ‘घरायसी आपसी मनमुटाव पनि थियो होला, तर खानै नपाएर मर्नु भन्ने कुरा गलत हो, आर्थिक अभाव पनि एक चैँ हो ।’ उनले दर्जीले खानै नपाएर मर्न बाध्य नरहेको भएपनि आर्थिक अभाव रहेको भने स्वीकार गरे ।
उनले भने, ‘करीब ४ बर्ष अगाडिदेखि त्यहाँ बस्दै आएका रहेछन्, अभाव भएका ठाउँमा हामीले तीनचोटी समेत राहत दिएका छौँ । अहिले पनि समस्या परेका ठाउँमा सहयोग गर्दै आएका छौँ ।’ उनका अनुसार दर्जीले झुण्डिएरै मर्नुपर्ने समस्या नरहेको भएपनि घटना भइसकेपछि अहिले पीडित परिवारलाई आर्थिक खर्च समेत जुटाउँदै आएको थापाले बताए ।
‘हामीले नगरपालिकाबाट काजकिरिया खर्च दिने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘आत्महत्या गरेकै दिन पनि म आँफै बसेर पोष्टमार्टम गर्ने खर्च व्यवस्था गरेँ, पीडित छोराछोरीका लागि सहयोग जुटाएर समस्या नहुने गरी हामी काम गरिरहेका छौँ ।’






