काठमाडाैं । काठमाडौं कुनै बेला उपत्यका थिएन, किंवदन्ती अनुसार यो त ताल थियो । मञ्जुश्री नामका एकजना तपस्वी पहाडको शीरैशीर यात्रारत थिए । तल हेर्दा उनले असाध्यै मनोरम ताल देखे । पहाडले घेरिएको त्यो अद्धितिय तालमा उपत्यका बनाई मानवबस्ती बसाउने कल्पना गरे र दक्षिणको चोभार डाँडालाई आफ्नो जादुगरी हतियारले काटिदिए । त्यहाँबाट तालको पानी बाहिर गयो । र, उपत्यका बदलियो ताल र यहाँ मानवबसोबास सुरु भयो ।
‘तर, जब यो उपत्यका ताल थियो, त्यसबेला तालको बीचमा पानीको सतहभन्दामाथि एउटा नीलो कमलको विशाल फूल थियो । र, यो त्यही ठाउँ हो, जहाँ अहिले हामी उभिएका छौं’, स्वयम्भु थुम्कोको शीरमा रहेको महाचैत्य प्रांगणमा उभिएर नेपाल आएका विदेशी पर्यटकलाई म भन्ने गर्छु, ‘अहिले पनि कतिपय यो विश्वास गर्छन् कि यो महाचैत्यभित्र एउटा नीलो ब्रम्हान्ड छ, जुन तिम्रो हो ।’

‘तिमी आँखा चिम्ल र त्यो नीलोलाई कल्पना गर । र, अनुभव गर, त्यो आकाशजस्तै गहिरो र महासागरजस्तै नीलो ब्रम्हान्डलाई । त्यो तिम्रो ब्रम्हान्ड हो । युनिभर्स् अफ स्प्रिच्युयालिटी । तर, त्यसअघि बिर्सिदेऊ तिम्रा सारा दैनिकी र व्यवहारहरुलाई । तिम्रो पेशा र कारोबारहरुलाई । तिम्रा आम्दानी र खर्चहरुलाई ।’ त्यति भन्दै म उनीहरुलाई एउटा महान मनोयात्रामा लैजान प्रकृति र शान्तिको संयोगलाई अझ विस्तारपूर्वक भन्ने गर्छु ।
‘तिमीले आफुलाई हलुका पाउनेछौ । तिमी फूलजस्तै मोहक र हावाजस्तै हल्का हुनेछौ । तिमीले तिम्रो मनको यात्रा र गन्तव्य दुवै पाउनेछौं’, म भन्ने गर्छु । र, भन्दै गर्दा मेरा नाडी र पाखुराभरी रौंका काँडाहरु उम्रिसकेका हुन्छन् ।
सयौं पटकमात्र होइन, हजारभन्दा बढी पटक गएँ । अनेक देशका मानिस लिएर गएँ । साथीभाई लिएर गएँ । परिवार लिएर गएँ । एक्लै गएँ । तर, जति पटक गए पनि म नअघाउने स्वयम्भु ! मौसम सफा भएको दिन त्यहाँबाट उत्तरमा देखिने हिमश्रृंखला, त्यहाँका फुटपाथे सिडीपसलबाट लगातार बजिरहने ऊँ माने पेमेको ध्वनि, हावामा लहराइरहेका बुद्धिस्ट झन्डाहरु, प्राय देखिने भिक्षु र भक्तजनहरु, बाँदर, परेवा र कुकुरहरु, स्तुपाको बनोट, बुद्धका आँखा र सबभन्दा बढी त्यहाँको भाइब्रेसन । ती सब मलाई अलौकिक लाग्छन् । र, तिनले मेरो अनकन्सियस, सबकन्सियस र कन्सियस सबै अवस्थामा उत्तिकै शान्ति दिन्छन् ।
स्वयम र भू दुई अक्षरबबाट बनेको यो शब्दको अर्थ हो, स्वयं उत्पत्ति भएको भूमि । यसको किंवदन्ती वा इतिहास निराकारजस्तै एकातिर छ तर म त्यहाँ पुग्दा आफ्नै विवेकको एकादेशमा पुगेको अनुभव गर्छु । आफ्नै ब्रम्हान्डमा पुगेको अनुभव गर्छु ।
लकडाउनमा पनि म कयौंपटक त्यहाँ गएँ । पछिल्लो पटक हिजो साँझ पनि गएको थिएँ । साँझमा स्वयम्भु अझ दिव्य थियो ।

(टुर गाइड समेत रहेका स्वतन्त्र पत्रकार सिलवाल लाङटाङ सद्भावना दूत हुन् ।)







