बर्दिया । कोरोना महामारी सुरु भएयता हालसम्म बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार हालसम्म ५ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै कोरोना संक्रमित बासगढी नगरपालिकामा छन् । भने सबै भन्दा कम गेरुवा गाउँपालिकामा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बासगढी नगरपालिकामा ८९ पुरुष र ७३ महिला गरि जम्मा १६२ जनालाई कोरोना पुष्टि भएको छ । बासगढी नगरपालिकामा संक्रमित मध्ये हालसम्म ४७ जना कोरोना निको भएर घर फर्केका छन् ।
गेरुवा गाउँपालिकामा सबै भन्दा कम २५ पुरुष र ८ महिला गरि ३३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा हालसम्म ३२ जना निको भएका छन् ।
यसैगरि बढैयाताल गाउँपालिकामा हालसम्म ६५ पुरुष र १२ महिला गरि ७७ जनामा कोरोना पुष्टि भएको छ । यो पालिकामा कुल संक्रमित मध्ये ६७ जना कोरोना निको भएका छन् । गुलरिया नगरपालिकामा हालसम्म ४८ पुरुष र १५ महिला गरि ६३ जनामा कोरोना संक्रमण देखिएको छ । गुलरिया नगरपालिकामा ४८ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
जिल्लाको मधुवन नगरपालिकामा हालसम्म ५० पुरुष र ७ महिला गरि ५७ जनामा कोरोना पुष्टि भएको छ । ४७ जनामा कोरोना निकै भइ सकेको छ । भने यो पालिकामा १ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिकामा २९ पुरुष र १८ महिला गरि जम्मा ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ ४४ जना संक्रमित निको भएका छन् ।
यसैगरि राजापुर नगरपालिकामा हालसम्म ३० पुरुष र १० महिला गरि ४० जनालाई कोरोना संक्रमण देखिएको छ । राजापुर नगरपालिकामा हालसम्म ३५ जनाले कारोना जितेका छन् । बारबर्दिया नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमा २२ जना निको भएर घर फर्केका छन् ।
जिल्लामा कुल संक्रमित ५१६ मध्ये ३४२ जना कोरोना निको भएर घर फर्केका छन् । भने १७३ जनाको आइशोलेसनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
पछिल्लो समय जिल्लामा पीसीआर परीक्षणको दायरा पनी बढाइएको छ । परीक्षणको दायरा बढेसँगै संक्रमित पनि थपिएका हुन् । संक्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङ्गका आधारमा स्वाब संकलन गरिदै आएको छ । हालसम्म १० हजार ७६० जनाको पीसीआर विधीद्धारा कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।