नेपाली समाजको अन्तरकथा

एउटा समय थियो, नेपाली समाजमा राणाशाहीले जनतालाई सताउने गर्दथे । समाजमा त्रास थियो । बोल्न पाउने अधिकार थिएन । बाटा थिएनन् । विद्यालय थिएनन् । सामाजिक चेतना थिएन । रेडियो, टेलिभिजन वा सञ्चारको माध्यम थिएन । अस्पताल थिएनन् । सामाजिक चेतना अत्यन्त न्यून थियो । युरोप र अमेरिकाका देश विकासको उत्सर्गमा पुगेको कुरा नेपाली समाजले सुन्न पनि पाउँदैनथ्यो । आकास माथि हवाई जहाज उडेको देख्दा निधारमा हत्केला राखेर आकाशतिर हेरेर अचम्म पर्नुबाहेक कल्पनाले पनि काम गर्दैनथ्यो । समाजमा यस्तो अविकास र पिछडापनको कथा थियो ।

२००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछि विद्यालय खोलिए । त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । प्रजातान्त्रिक अभ्यास अस्थिर रहे पनि २०१५ साल पछाडिको विश्वेश्वरप्रसाद कोइरालाको जननिर्वाचित सरकारबाट समाजले विकासको आशा गरेको थियो । तर, राजा महेन्द्रले २०१७ सालमा नि¥कुश शासनको सुरुवात गरे । राजतन्त्रको विरोध नगरेमा जनता डराउनुपर्ने अवस्था नभए तापनि मानव अधिकार र वाक् स्वतन्त्रता खोसियो । प्रजातन्त्रप्रति रुचि राख्ने सचेत वर्गलाई धर पकड गरिन्थ्यो । देशद्रोही भनिन्थ्यो । राजनीतिक रूपमा सामाजिक बेचैनी थियो । समग्रमा नेपाली समाज अभाव र राजनीतिक त्रासमा बाँच्न बाध्य थियो ।

निरङ्कुश राजतन्त्रविरुद्घमा प्रजातन्त्रको पुनर्वहाली गर्नका लागि नेपाली समाजले लामो संघर्ष ग¥यो । नेताले जेलनेल सहे । पञ्चायती व्यवस्थामा राजसत्ताविरुद्घ प्रतिनिधि घटनामध्ये जनकपुर काण्ड, झापा प्रकरण, सुखानी हत्याकाण्ड, जहाज अपहरण, टिमुरबोटे हत्या प्रकरण, पिस्कर हत्याकाण्ड, देउमाई काण्डलगायतका प्रकरणमा धेरै नेपाली ज्यान गुमाए । कतिपयलाई कारागारमा राखियो । कतिको सर्वस्वहरण भयो । समाज मनोवैज्ञानिक त्रास र पिछडापनको पीडामा गुज्रन बाध्य थियो । हुँदै गयो । तर पनि समाजले प्रजातन्त्रका लागि अनवरत संघर्ष गर्न छाडेन । र, अन्तत ः २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भयो ।

समाजमा प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि विकास र समृद्घिको ठूलो सपना थियो । गरिबी, अभाव, अशिक्षा, विभेद र पछौटेपनले थल्थलिएको मुलुकको अन्तरकथालाई बदलेर विकास गर्नुपर्ने गहन जिम्मेवारीलाई तत्कालीन नेपाली कांग्रेस र एमालेले सम्बोधन गर्न सकेनन् । सामाजिक, आर्थिक र न्यायिक अन्यायमा परेको समाजको भावनालाई आकर्षण गर्दै तत्कालीन माओवादी दलको नाममा जनयुद्घ सुरु भयो । २०५२ देखि २०६२ सम्म चलेको माओवादी जनयुद्घले राणाशाही र पञ्चायती व्यवस्थाको सास्ती सहेको समाजलाई त्योभन्दा पनि जर्जर बनायो । १७ हजार नेपालीले ज्यान गुमाउन प¥यो । हजारांै घाइते, बेपत्ता, अपांग तथा घरवारविहीन भए ।

राजनीति नातावाद, आफन्तवाद, चिनजानका आधारमा अवसरको बाँडफाँडमा व्यस्त छ । शिक्षा व्यापार भएको छ । स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा छैन । समाजका लागि यो भन्दा दुःख के हुन सक्छ ?

त्यसो त माओवादी जनयुद्घले नेपाली समाजमा राजनीतिक परिवर्तन ल्यायो । राजतन्त्र गयो । गणतन्त्र आयो । देशलाई धर्म निरपेक्ष बनाइयो । संघीयता लागू गरियो । केन्द्रमा रहेको राजनीतिक र प्रशासनिक शक्तिलाई स्थानी तहमा हस्तान्तरण गर्ने भनी गाउँगाउँमा सिंहदरबार भनियो । केन्द्रीय, प्रान्तीय र पालिका गरी ७ सय ६१ वटा भुरे सरकार बनाइए । प्रदेश प्रमुख र मुख्यमन्त्री नियुक्त भए । यस प्रकारको राजनीतिक परिवर्तन गर्दागर्दै तत्कालीन माओका चेला तितरबितर हुन पुगे । दलका केही ठुल्दाइ चोइटिएर लाखापाखा लागे । कोही जंगल पसे । कोही सत्ता र जंगलभन्दा बाहिर बसेर रमिता हेरिरहेका छन् । कोही देशको पुराना भनिएका तत्कालीन एमाले र कांग्रेसको वरिपरि घुम्दाघुम्दै देशको राजनीतिक परिदृश्य बदलियो ।

राणा र पञ्चायती व्यवस्थाविरुद्घमा खरो संघर्ष गर्दै आएको नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । यो दल मियोबिनाको दाइँजस्तो भएको छ । नेपाली कांग्रेसका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेस बीपी पथमा हिँडिरहेको भन्न छुटाएनन् । अहिले नेपाली कांग्रेस गन्तव्य र मन्तव्य एउटै नभएको दल बनेको छ । यो दलले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता त्यागी, इमानदार बीपीका अनुयायीलाई किनारा लगाएको नेपाली समाजले भुलेको छैन । तर, अझै पनि तीनका शीर्ष भनिनेले बीपीको नाम भजाएर राजनीति गर्न छाडेका छैनन् ।

हो, प्रजातन्त्र आउनुभन्दा अगाडिदेखि नै समाजमा लिंगीय, जातीय, वर्गीय, क्षेत्रीयलगायतका समास्याको दर्दनाक कथा अहिलेभन्दा बढी थियो । बालविवाह थियो । छोरीलाई सानै उमेरमा विवाह गरेर पराई घर जानुपर्ने बाध्यता थियो । महिला पुरुषको दया, मायाका पात्र थिए । उनीहरूमा सम्पत्तिको अधिकार थिएन । शिक्षाबाट वञ्चित थिए । राजनीतिक, सामाजिक, शैक्षिक अधिकारबाट वञ्चित गराइएको थियो । त्यो अवस्था अहिले छैन । अहिले समाजको राजनीतिक र शैक्षिक चेतना उचालिएको छ । तर, समाजका समस्याले नयाँ रूप लिएका छन् । कथा व्यथा फेरिएका छन् । अहिले समाज मानसिक बेचैनीले थलिएको छ । आर्थिक अभावले रुमलिएको छ । युवा पुस्ता गाउँमा छैन । वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । प्राण हत्याको दर तीव्र हुँदै गएको छ ।

त्यसो त कतिपय अग्रज नागरिकले अहिले समाजले पाएको भौतिक सुविधा उहिले थिएनन् । अहिले धेरै परिवर्तन भएको छ । पहिलेको समाज र अहिलेको समाजको तुलना नै गर्न मिल्दैन भन्ने धेरै छन् । यो भनी रहँदा उही पात्रले भृकटी खुम्च्याउँदै भन्छन्, तर अहिलेको जस्तो सामाजिक विसंगति पहिले थिएन । पहिलेको समाजमा परिवारमा मेल थियो । सामाजिक सद्भाव थियो । समाजको आवश्यकता ठूलो थिएन । किसान अर्मपर्म गर्थे । तँछाडमछाडको प्रतिस्पर्धा थिएन । समाजमा सहयोगी भावना र मानवीय व्यवहार थियो । नेपाली समाजको ग्रामीण जीवन शारीरिक दुःखले भरिएको भए पनि मानसिक सन्तुष्टि थियो । अहिले भौतिक सुविधामा बढोत्तरी भए तापनि सामाजिक, आर्थिक एवं पारिवारिक सुखानुभूति हुन सकेको छैन । समाजमा दुःखको रूप फेरिएको छ । पीडाका विषयवस्तु फेरिएका छन् । समाज दुःखी बन्दै छ ।

अहिले समाजमा तनाव, मानसिक पीडा, पारिवारिक झगडा, हत्या, हिंसा, पारिवारिक विखण्डन, विच्छेद, दुव्यर्सनी, साइबर क्राइमलगायतका समस्या बढिरहेका छन् । इमान खस्कँदै छ । आफ्नो सुख र सुविधाको लागि समाज प्रतिस्पर्धामा छ । मानवता कमजोर भएको छ । राज्यका संयन्त्र जनमैत्री छैनन् । बेरोजगारी ठूलो समस्याको रूपमा देखापरेको छ । देशले विकासको गति लिन सकेको छैन । इमानदार मानिस छायामा परेका छन् । राजनीति नातावाद, आफन्तवाद, चिनजानका आधारमा अवसरको बाँडफाँडमा व्यस्त छ । शिक्षा व्यापार भएको छ । स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा छैन । समाजका लागि यो भन्दा दुःख के हुन सक्छ ?

मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि समाजको ठूलो जनसंख्या गाँस, बास र कपासको अभावमा तड्पिएको छ । राज्यबाट नागरिक ठगिएका छन् । किसानले मल पाउन सकेका छैनन् । भ्रष्ट, एवं बेइमान ठेकेदारले राजनीतिक पहुँचको आधारमा ठेक्कापट्टा पाउने र कुनै पनि आयोजना समयमा पूरा नगर्ने नियति दोहोरिइरहेको छ । अहिले कृषिमन्त्री घनस्याम भुसालले कृषि मल नल्याउने ठेकेदारसँग गरिएको सझौता रद्द गरी धरौटी जफत गरेका छन् । यो निराशाभित्रको एउटा खुसीको खबर भए तापनि किसानले यस वर्ष मल पाउन सकेनन् । लगनपछिको पोतेझंै बंगलादेशबाट पैंचो ल्याउने भनिएको मल धान पाक्ने बेलामा आउनुको के अर्थ ? अचानोको पीर खुकरीले बुझ्दैन भनेझैं समाजका पीर व्यथा, अन्तरकथा कसले बुझिदिने ? समाजको दुःख बुझेर मुलुकको हित र जनताको पक्षमा काम गर्ने राजनेता कहिले पाइएला ?

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित