मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो ।
पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ ।
विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । पुरस्कृतहरूलाई युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल,नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, प्रेस संगठन नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले शुभकामना दिए ।
शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन् ।