उदयपुर । कोरोनाको जोखिम बढ्दै गएपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा एक करोड भन्दा बढी लगानी गरेर भेन्टिलेरसहित पाँच बेडको आइसियू कक्ष निर्माण गरिएको छ । तर त्यसलाई सञ्चालन गर्न जान्ने आवश्यक प्राविधिक जनशक्ती नहुँदा प्रयोग बिहिन हुन पुगेको छ ।
कोरोना बिषेश अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले तीन महिना अघि निकासा गरेको एक करोडको लागतमा बल्लतल्ल तीन महिनापछि अस्पतालमा दुई ओटा भेन्टिलेरसहित पाँच बेडको आईसियु कक्ष निर्माण त भयो तर जनशक्तिको अभावमा सञ्चालनमा आउन नसक्ता उपकरणसहित तयार पारिएको आइसियू कक्ष प्रयोग बिहिन बन्न पुगेको हो ।
जिल्ला अस्पतालमा हाल कार्यरत चिकित्सकहरुमा भेन्टिलेर सहितको आइसियू कक्ष सञ्चालन गर्न जान्ने सीप र ज्ञान नहुदा कहिलेबाट उदयपुर जिल्ला अस्पतामा आउने बिरामीहरुले सो सुविधा सहितको उपचार सेवा पाउन सक्छन भन्ने कुनै टुगो छैन । आइसियू कक्ष सञ्चालनका लागि कम्तीमा एक जना एनेस्थेसिया डाक्टर, चार जना मेडिकल अफिसर र आठ जना आईसियू सञ्चालनको लागि तालिम प्राप्त स्टाप नर्सको आवश्यक हुन्छ तर त्यति धेरै जनशक्ति हाल अस्तालमा नभएको उदयपुर अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालमा दरबन्दी अनुसारको बिषेशज्ञ डाक्टर छैनन । भएका मेडिकल अफिसर र नर्सलाई तालिममा पठाएर काम चलाउने गरेको बताउँछन् । भएका जनशक्तिलाई तालिममा पठाएर भए पनि आईसियू सञ्चालन गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण ठुला अस्पतालहरुमा तालिममा पठाउन पनि नसकिएको जिल्ला अस्पताल उदयपुरका निमित्त अस्पताल प्रमुख जिवनारायण मण्डलले बताए ।
उदयपुर जिल्ला अस्पताललाई १० बेड क्षमताको आइसियू कक्ष स्थापना र सञ्चालनका लागि प्रदेश १ सरकारको सामाजिक मन्त्रालयबाट पाँच लाख पुन निकासा दिने निर्णय भएको तर वर्तमान अवस्थामा आईसियू कक्ष चलाउने चिकित्सकहरुको ब्यवस्था गर्न सकिने अवस्था नरहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले जानकारी दिए ।






