काठमाडौं । गायक हिमाल सागर सन २०२०को लागि वल्र्ड म्युजिक टुरअन्तर्गत युरोप, अस्ट्रेलियालगायतका देशमा म्युजिक टुरमा जुटेका थिए । अहिले कोरोनाको विश्वव्यापी महामारीका कारण गायक हिमाल सागरलाई यसपटक निकै ठूलो घाटा भएको छ ।
‘यसपटकको टुरबाट लाखौं रुपैयाँ आम्दानी हुनेमा म विश्वस्त थिएँ । तर, कोरोनाका कारण मेरा डेढ दर्जन अन्तर्राष्ट्रिय कन्सर्ट स्थगित हुँदा निकै ठूलो घाटा भएको छ,’ गायक हिमाल सागरले राजधानीसँग भने, ‘करिब पाँच महिनाको वल्र्ड म्युजिक टुर कार्यक्रम जहाँजहाँ बुक भएका थिए, ती सबै ठाउँमा अब सन् २०२१ मा गर्ने भनेर ६ महिना देखि एक वर्षपछि सारिएको छ ।’
पछिल्लो पुस्ताका गायकहरूमा विदेशमा सांगीतिक कार्यक्रमका लागि राम्रो डिमान्ड भएका गायकमा हिमाल सागर पर्छन् । उनको यो दसैंमा अस्ट्रेलियाको सिड्नी, मेल्बन, ब्रिसबेन, ताज्मेनियामा इन्द्रेणी फङसङ सेन्टरले दसैंको अवसर पारेर वल्र्ड म्युजिक टुर आयोजना गर्दै थियो । अस्ट्रेलियाका ६ वटा मुख्य सहरका कार्यक्रम सन् २०२१ का लागि सारिएको गायक हिमाल सागरले बताएका छन् ।
अस्ट्रेलियाका आधा दर्जन सहर मात्र हैन, युरोपका करिब एक दर्जन मुलुकमा उनको दसैंबाट तीन महिनाको लागि कन्सर्ट बुक थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण ती सबै कार्यक्रम स्थगित भएको गायक हिमाल सागरले बताएका छन् ।
‘दसैंमा अस्ट्रेलियामा कन्सर्ट कसेर म लगत्तै दसैंतिहारलाई लक्षित गरेर कन्सर्टका लागि युरोप जाने योजनामा थिएँ । वल्र्ड टुरअन्तर्गत युरोपका स्विट्जरल्यान्ड, डेनमार्क, पोर्तुगल, फ्रान्स, फिन्ल्यान्ड, स्विडेन, बेल्जियम, जर्मन, स्पेन, नेदरल्यान्डमा भएका नेपाली संघसस्थाले प्रोग्रामका लागि बोलाएका थिए,’ गायक हिमाल सागरले भने, ‘कार्यक्रम कसैले पनि रद्द गर्नुभएको छैन । अहिलेलाई ती कार्यक्रम सन् २०२१ लागि सारिएको जानकारी उहाँहरूले धमाधम दिनुभएको छ ।’
पप, आधुनिक, लोक, राष्ट्रियभाव, चलचित्रसहित हालसम्म करिब ५ सयवटा गीत गाएका हिमाल आफ्नो मुख्य कमाइ भनेकै स्टेज कार्यक्रम हो भन्छन् । विगतमा दसैंतिहारमा प्रायः विदेशमा हुने यी गायकले यसपटक भने घरमै परिवारसँग दसैंतिहार मनाउने योजना सुनाए, ‘चाडबाडमा प्रायः विगतमा विदेशमा भइन्थ्यो । यसपटक परिवारसँग हुनेछु ।’
गायक हिमालले यसअघि थुप्रै देशमा कन्सर्ट गरिसकेका छन् । सन् २०१५ मा नेपालका भूकम्पपीडितका लागि आफूले अमेरिका पुगेर त्यहाँको सेक्रोमेन्टोमालगायतका ठाउँमा कन्सर्ट गरेर राहत संकलन गरेको उनले बताए, ‘त्यहाँ कार्यक्रम गरेर उठाएको रकम नेपाल ल्याएर भूकम्पपीडितहरूका लागि खर्च गर्न पाउँदा निकै आनन्द लाग्यो । त्यसपछिबाट विभिन्न कन्सर्टको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु,’ हिमाल सागरले भने ।
गायक हिमालको विदेशमा मात्र हैन, यसपटक स्वदेशकै पनि कन्सर्ट स्थगित भएको छ । दसैंअघि हिमालको आफ्नै गृह जिल्ला झापामा पनि एकल साँझ थियो । त्यो कार्यक्रम पनि कोरोना संक्रमण साम्य नभएसम्म आफूहरूले सारेको आयोजक उनले बताएका छन् । देश विदेशमा हुने कार्यक्रममा स्टेजमा व्यस्त हुने यी गायकलाई यतिबेला कोरोनालाई चुपचाप घर बस्न बाध्य तुल्याएको छ ।
विगत १७ वर्षदेखि गायनमा सक्रिय हिमालले अहिलेको अवस्थामा घरमै बसेर नयाँनयाँ गीत सिर्जना गरिरहेका छन्, ‘यसबीचमा करिब आठवटा गीत तयार गरिरहेका छु । अब दसैंपछिबाट करिब आठ महिनाभित्र मेरा नयाँ गीत लगातार आउनेछन्,’ उनले भने ।
२०६० सालमा पहिलो गीतिसंग्रह ‘रिलेसन’ निकालेर गायनमा व्यावसायिक रूपमा आएका उनले त्यसपछि सधंै यो क्षेत्रमा सफलता हासिल गरे । पहिलो गीतिसंग्रह त्यतिबेला करिब ७ लाखप्रति बिक्री भएपछि उनी एकाएक चम्किए । २०६१ उनले माछापुच्छ«्रे एफएमबाट न मैले लेखें न उनले लेखिन्…बाट वर्षको उत्कृष्ट गीतको अवार्ड पाए ।
दुईपटक कालिका एफएम म्युजिक अवार्ड हासिल गरिसकेका यी गायक पछिल्लो समय गीतिसंग्रहभन्दा एकल गीत निकालेर युट्युबमार्फत सार्वजनिक गर्नेक्रम बढेको बताउँछन्, ‘त्यतिबेला लाखौं क्यासेट बिक्री हुँदा आफ्नो क्यासेटको कभरमा सही गर्दागर्दा दिक्क भइन्थ्यो । विगतमा सातवटा एल्बम निकालेको भए पनि त्यो सबै अब इतिहास बनिसक्यो ।’ अहिले गीतको मूल्यांकन युट्युबको भिवर्सबाट हुने जमाना आएको हिमालले बताए । गायनसँगै अहिले एउटा नयाँ चलचित्रमा नायकको भूमिकाका लागि तयारी गरिरहेको हिमालले बताए ।






