सप्तरी, राजविराज । कोरोनाको जोखिम कम नहुदै सप्तरीमा तिन दिन यता लगायतारको बर्षाले खाडो, सप्तकोशी, बलान, त्रियुगा, जिता लगायत आधा दर्जन भन्दा बढी नदी खोलामा आएको बाढीले जिल्लाका अधिकांश स्थानिय तहहरुको अवस्था अस्तव्यस्त बन्न पुगेको छ ।
बाढीको जोखिम बढदै गएपछि जिल्लाको समग्र जनजिवन नराम्ररी प्रभावित बनेको छ । निरन्तरको बर्षाले सदरमुकाम राजविराज सहित ग्रामिण क्षेत्रका अधिकांश घर र सडक जलमग्न भएको छ । ढल निकास नहुँदा राजविराज नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ११ र १३ का झण्डै ५ सय घरमा बाढीको पानी पसेको छ ।
बर्षाको पानीले गजेन्द्र चौक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । घर सडकमा पानी जमेका कारण आवत जावत गर्न समेत समस्या भएको राजविराज ५ घर भएकी पुर्व मन्त्री मिथिला चौधरीले सुनाईन । सो वडाका करिब १ सय ५० घरमा बाढीको पानी पसेको वडाध्यक्ष समिर झाले जानकारी दिए ।

सोही वडा कि रक्षा चौधरीले बाढीको पानी सँगसँगै सर्पहरु पनि बगेर घरघरमा आउन थालेपछि आफुहरु थप त्रासमा बाच्न बाध्य भएको सुनाईन । पानीको निकासको व्यवस्था नहुँदा आफुहरु समस्यामा परेको भन्दै स्थानियले अबिलम्ब त्यसको व्यवस्थापन गर्न माग गरेका छन् ।
यस्तै खाडो खोला र जिता नदीको बाढी पस्दा तिलाठी कोईलाडी गाउँपालिका १ बेल्ही टोल र हनुमाननगर कंकालिनी नगरपालिका ९ रम्पुरा मल्हिनयाका ५० घर डुबानमा परेका छन् । बस्तीमा २ देखि ३ फिट सम्म पानी जमेको गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हाट बजार लाग्ने स्थान र हाम्रो घर आँगनबाट कोशी बगीरहेको स्थानियबासी सत्य नारायण मुखियाले बताए ।
यस्तै बलान नदीको बाढीले बलान बिहुल गाउँपालिका २ स्थित पश्चिमी तटबन्ध कटान गर्न थालेको र आफुहरु जोखिममा परेको स्थानियले बताएका छन् । २ महिना अघि पनि आएको बाढीले सो क्षेत्रको ८ सय मिटर जति तटबन्ध कटान गरेको थियो ।
सो तटबन्धको मर्मत हुन नपाउँदै फेरी थप भाग कटान गर्न थालेपछि स्थानियमा त्रास फैलिएको छ । बाढीको उच्च जोखिममा रहेका टटिय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षा निकाय हाईअलर्ट अवस्थामा रहेको स्थानिय प्रशासनले जनाएको छ ।
बर्षाका बेला बर्षेनी बाढीले ठुलो जनधनको क्षति गर्ने गरेको भन्दै स्थानियले यसको नियन्त्रण तथा स्थायी सामाधान खोज्न माग गरेका छन् ।







