लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ७, करापुटार स्थित इशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शिवरात्रीका लागि मेलाको तयारी गरिएको छ । उक्त मन्दिर परिसरमा दुई दिने मेला लाग्ने परम्परा रहि आएको छ, त्यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त स्थानमा रहेका इशानेश्वर महादेवलाई सन्तानेश्वर पनि भनिन्छ । उक्त मन्दिरमा मूलतः रातको समयमा ठाडो बत्ती बालेमा सन्तान नहुनेका लागि सन्तान(छोरा) लाभ हुने विश्वास छ । त्यसैले शिवरात्रीका दिनमा दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरूको भिड मन्दिर परिसरमा देखिन्छ । इशानेश्वर क्षेत्र विकास समितिले मेलाको प्रवन्ध गरी आएको छ । ठाडोबत्ती बाल्नेहरूका लागि एक हजार सिट स्थानको प्रवन्ध गरिएको आयोजक समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताए । उनका अनुसार उभिएर रातभर जाग्राम रहेर बत्ती बाल्ने कार्यलाई ‘ठाडोबत्ती बाल्ने’ भनिन्छ ।
करापुटारस्थित इशानेश्वर महादेव मन्दिरलाई काठमाडौंका पशुपतिनाथ पछिको दोस्रो महत्वपूर्ण मन्दिर तथा शक्ति पिठ मानिने भएको हुँदा पनि यहाँ दर्शन गर्न दूध चढाउन धेरै भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रुपमा पनि पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ । महाशिवरात्रीको अवसर पारी लामो समयअघिदेखि सन्तान नभएका सयौं दम्पतीहरु मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ती बालेका छन् ।

रातभरी जाग्राम भई ठाडो बत्ती बालेमा सन्तान लाभको आकांक्षा राख्नेदम्पत्तीहरू ठाडोबत्ती बाल्नका लागि लमजुङका अतिरिक्त तनहूँ, गोरखा, काठमाडौं, पोखरा, चितवन, पर्वत, स्याङजा, बाग्लुङ, नवलपरासीदेखि भक्तजनहरू करापुटार आउने गर्दछन् स्थानीय कुसुमाकर माविका शिक्षक एवम् ठाडोभाका लोक कला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार सन्तानको बर माग्न मात्र हैन त्यसरी जन्मेका सन्तान ३, ४ वर्षको भए पनि ती बालबालिकालाई फेरि दर्शन गर्न ल्याउने चलन पनि छ । उनले भने, नसक्नेहरूले बसेर पनि बत्ती बाल्ने गर्दछन् ।
उभिएर भन्दा बसेर बत्ती बाल्नेको संख्या सधै अनगिन्ति हुन्छ । ठाडो बत्ती बाल्नेकाहरूलागि पाँच सय रुपैयाँ लिएर उभिदा सहज हुने गरी अडेस लाग्न मिल्ने र जस्ताको छाना सहितको स्थान निर्माण गरेको छ । त्यसका लागि प्रतिव्यक्ति पाँच सय रुपैया समितिले शुल्क लिने गरेको उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शास्त्रीले बताए ।

मेलामा रौनक भर्नका लागि लमजुङको मौलिक पहिचान दिने जिल्लाको गौरवको रुपमा रहेको ठाडोभाकाको प्रस्तुति गर्ने गरिन्छ । यो वर्ष ठाडोभाका लोककला प्रतिष्ठान नेपालले शिवरात्रीका अवसरमा विशेष कार्यक्रम गर्ने भएको प्रतिष्ठानका सचिव कृष्ण आलेले बताए । उनका अनुसार यो वर्ष भारतको अमसबाट प्रतिष्ठानको निमन्त्रणामा नेपाली संस्कृति सुरक्षा परिषद, असमका वरिष्ठ उपाध्यक्ष इन्द्र चापागाईको नेतृत्वमा श्रीश्री जनार्दन देव गोस्वामीसहितको १० सदस्यीय टोली आएको छ । उनले भने, सो अवसरमा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र सल्लाहकार उत्तम गुरुङका बीचमा ठाडोभाकामा घम्साघम्सी हुनेछ ।






