सिरहा । बलात्कारको घटना गाउँमै पाँच लाखमा मिलाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ मा गएको १२ असोजमा भएको बलात्कार प्रकरणमा गाउँका पञ्चहरुले बलात्कारीलाई ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाएका थिए । उक्त घटनामा संलग्नलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्नलाई जोगाउन स्थानिय पञ्चहरुले बलात्कारी र पीडित परिवारविच पाँच लाखको कपाली तमासुक गराएका छन् ।
घटना विवरण अनुसार स्थानीय सिँघेश्वर साहका २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेका थिए । बलात्कारको घटना घटेपछि स्थानिय ‘पञ्च’हरुले घटनालाई गाउँमै मिलाउने भन्दै बलात्कारीसंग पाँच लाख असुल्ने योजना बनाए ।
बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्याम सुन्दर यादवले बलात्कारीलाई पाँच लाख जरिवाना तिराएर घटना प्रहरीको जान नदिने योजना बनाएका
थिए ।
घटना यसरि सार्वजनिक भयो
बलात्कृत किशोरीका भाइले मुकेशलाई कुटेर घाइते बनाएपछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको थियो । पीडित किशोरीका आफन्तहरुले स्थानियय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागि बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगेका थिए ।






