लमजुङ । लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माणको अन्तिम चरणमा पुगेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी ‘ए’को निर्माण कार्य ९६ प्रतिशत सकिएको आयोजनाका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए ।
चैत ३० गते विद्युत् उत्पादन थाल्ने तयारी गरेको आयोजनाले नयाँ वर्षसँगै २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउनेछ । जिल्लाको पूर्वी क्षेत्र दोर्दीखोलामा निर्माण गरिएको उक्त आयोजनाले तोकिएको मितिमा विद्युत् उत्पादन गर्ने आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनले भने, ‘आयोजनाको काम रफ्तारमा चलिरहेको छ । हामी निर्धारित मिति चैत ३० गते विद्युत् उत्पादन गर्नेछौं ।’
आयोजनाको बाँध, डिसेन्टर तथा गेट संरचना निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । हेडरेस टनेल, संरचना निर्माण तथा सर्ज साफ्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको निर्माण कार्य सकिएको छ ।
मेसिनरी सामग्री जडानकार्य ८५ प्रतिशत सकिएको आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेश जोशीले बताए । उनका अनुसार चैत मसान्तभित्र आयोजनाकोे काम सम्पन्न हुनेछ । पेनस्टक पाइपको काम सकिएको छ । विद्युत् प्राधिकरणमा जडान गर्न स्विचयार्ड संरचनाको निर्माण काम अन्तिम चरणमा छ ।
दोर्दी गाउँपालिका ६ र ७, साबिकका ढोडेनी र फलेन गाविसमा निर्माण गरिएको आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा बाँध निर्माण गरेको छ । आयोजनाको २ हजार ६ सय २३ मिटर लम्बाइको सुरुङ छ । २ हजार ८ सय ३४ मिटर लामो पेनस्टक पाइपको निर्माण कार्य सकिएको छ । आयोजनाले विद्युत् उत्पादनका लागि १२ दशमलब ५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्बाइन जडान हुनेछ ।
नदीको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाले १५ वैशाख २०७१ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार मेगावाट आवर युनिट विद्युत् उत्पादन हुनेछ ।
आयोजनाले हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रुपैयाँ ८० पैसा रहनेगरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिरणले कीर्तिपुरमा निर्माण भइरहेको १ सय ३२ केभीको प्रसारण लाइनमार्फत सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको प्रभावित क्षेत्र (ढोडेनी, फलेनी) को विकासका लागि आयोजनाले ६ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । ४ करोड रुपैयाँ निर्माणाधीन खर्च गरिएको छ । २ करोड रुपैयाँ विद्युत् उत्पादनपछि स्थानीयको विकासमा लगानी गर्नेछ ।