भोजपुर । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४०७ रुपैँया लागतमा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरेका हुन् ।
सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन पटक बोलपत्र खुलाएको भए पनि कुनै पनि निर्माण ब्यवसायीले बोलपत्र नहालेपछि पुल निर्माणमा केही ढिलाई भएको मुख्यमन्त्री राईले जानकारी दिए ।
मुख्यमन्त्री राईले भने ‘यो पुल मेरो प्राथमिकतामा परेको मुल हो, यस अघि आह्वान गरिएका तीन ओटा बोलपत्रमा कसैले पनि काम गर्ने इच्छा नगरेपछि काममा ढिलाई भयो, नत्र यो पुल यो समय सम्म निर्माण भईसकेको हुन्थ्यो ।’
ठूला नदिमा लगाएको यो पुल प्रदेश सरकारको सबै भन्दा ठुलो लगानीमा निर्माण हुन लागेको पुल रहेको समेत मुख्यमन्त्री राईले जानकारी दिनुभयो । निर्माण अवधी २४ महिना रहेपनि सो अवधी भन्दा पहिला नै निर्माण सक्नको लागि उहाँले निर्माण व्यवसायीसंग आग्रह गरे ।
‘यसको निर्माण अवधी २४ महिना छ, तर मैले निर्माण व्यवसायीलाई १ वर्ष भित्र सक्न भनेको छु, मैले भनेको समयमा गुुणस्तरिय तबरबाट सम्पन्न गरेमा यही स्थानमा कार्यक्रम गरेर उहाँलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गर्ने पनि म घोषणा गर्न चाहान्छु, मलाई विस्वास छ, उहाँले यस अघि गरेको काम हेर्दा यो पुल पनि तोकिएको समय अगाडि सक्नु हुन्छ’ मुख्यमन्त्री राईले भने।
कार्यक्रममा बोल्दै प्रतिधिनि सभा सदस्य सुदन किराँतीले पुल निर्माणले भोजपुरबासीको समृद्धिमा धेरै ठुलो टेवा पुगेको बताउनुभयो । सांसद किराँलीले भने‘ यो पुलले दक्षिणी भेगसंगै भोजपुरबासीको मुहार फर्नेने छ, लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका जनतालाई प्रत्यक्ष लाभ पुग्ने छ, यो हाम्रो लागि हर्षको दिन हो ।’
पुलले भोजपुरको हतुवागढी –९ हसपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैलीलाई जोड्ने छ । यो पुल भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसंग सबै भन्दा छोटो मार्ग भएकोले यसले जिल्लाको आर्थिक रुपमा विकास पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
कालिका प्यासिफिक जेभीले निर्माण गर्न लागेको पुलको लम्बाई ९० मिटर र चौडाई फुटपात सहित साढे १० मिटर रहने प्रदेश –१ भौतिक पूर्वाधार विकास मन्त्रालय,यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक रेवतीरमन पराजुलीले जानकारी दिए ।
भोजपुर सदरमुकामबाट दुधकोशी पुल सम्मको लम्बाई करिब ६५ किलो मिटरहेको छ । तराईका जिल्लासंग जोड्ने सबै भन्दा छोटो मार्ग भएकोले यसले जिल्लाको आर्थिक रुपमा विकास टेवा पुग्ने जानकारहरुको भनाई छ । पूर्वी क्षेत्रबाट धरान सम्मको पुग्नको लागि भोजपुरबासीले १५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।






