कोरोना संक्रमितको गुनासो–‘आइसोलेसनमा भेडा बाख्रा थुने जस्तो छ’

सांकेतिक तस्वीर

इटहरी । इटहरी ४ का प्रकाश नेपाललाई गत असोज ८ गते कोरोना भाइरस संक्रमणको पुष्टि भयो । ५ गते स्वाब दिएका उनलाई ८ गते विहान कोरोना पुष्टि भएको थाहा भयो । सामान्य ज्वरो आएर स्वाब दिन गएका नेपाललाई कोरोना पुष्टि भएको करीब २४ घण्टापछि मात्रै एम्बुलेन्सले उनलाई इटहरी उपमहानगरपालिकाले तयार गरेको इटहरी रंगशालामा बस्नका लागि लग्यो । तर, बिडम्बना प्रकाशले सोचेजस्तो न त आइसोलेसनमा उपचार भयो । न, त राम्रो खाना नै खुवायो । बरु उनलाई भेडा बाख्रा थुने जस्तो अनुभूति भयो ।

‘आइसोलेसनमा पानी पर्दा चुहिएर बस्नै नसकिने अवस्था छ,’ उनले गुनासो पोखे, ‘राम्रो खाना समेत खान नपाईएका कारण हामीले व्यक्तिगत रुपमा नै खाना मगाएर खायौँ ।’ ११ देखि १२ बजेको समयमा उसिना चामलको भात र मुसुरीको दालसँग भात खुवाउने गरेको रंगशालामा स्वादै बिनाको खाना खुवाएपछि आफूहरुले व्यक्तिगत रुपमै मगाएर खाएको उनले बताए । भने, ‘नगरपालिकाले खुवाएको खानामा कुनै स्वाद नभएपछि हामीले आफ्नो हिसाबमा मगाएर खायौँ, हामी अलिकति सक्षम हुने मान्छेले खायौँ, केही नहुनेहरुले के गर्ने ?’ १४ दिनसम्म आइसोलेसनमा बस्दा त्यहाँको खानाले झनै बिरामी निम्त्याउने उनको भोगाई छ । ट्वाइलेट र खानेपानीको राम्रो सुविधा भएपनि अन्य कुरामा समस्या रहेको उनको भनाई छ ।

‘सिसि क्यामेरामा निगरानी राखिएको, भित्र भेडा बाख्रा थुनेको जस्तो अवस्था छ,’ उनले गुनासो पोखे, ‘रंगाशालामा निर्माण भएको आइसोलेसनमा बस्नु भन्दा घरमा बस्नु धेरै सुविधा हुन्छ, न एकपटक डाक्टरहरु आएर जाँच गर्छन्, न स्वास्थ्य अवस्था नै सोध्छन् ।’ उनका अनुसार परैबाट कसलाई के समस्या छ भन्ने बिषयमा माइकिङ हुन्थ्यो । साह्रो, गाह्रो भएको खण्डमा आँफूहरुले भनेको अवस्थामा दुखाई कम गर्ने औषधि दिने गरेको उनले सुनाए । ‘ज्वरो आएमा सिटामोल दिन्थ्यो, एकपटक प्रेसर जाँच समेत हुँदैन,’ नेपालले राजधानीसँग भने, ‘दिउँसो एउटा बिस्कुट र चाउचाउ खानेकुरा हुन्थ्यो, बहुतै समस्या छ ।’ उनले पोषिलो खानेकुरा नदिने गरेकाले आँफूहरुले बाध्य भएर व्यक्तिगत रुपमा खाना मगाउनुपरेको बताए ।

नेपाल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीसँगै बसेका अन्य संक्रमितहरुको पनि गुनासो उस्तै रहेको छ । रंगशालाको आइसोलेसनमा हाल ४ दर्जन बढी संक्रमित रहेका छन् । तर, उनीहरुको व्यवस्थित बसाई र खाना नहुँदा समस्या ज्यूँ को त्यूँ रहेको पीडितको भनाई रहेको छ ।

‘फेसबुकमा त राम्रै चर्चा भएको पाइन्छ, तर वास्तविकता हामीजस्ता पीडितलाई सोधे हुन्छ,’ इटहरी ६ का अर्का संक्रमितले आफ्नो भोगाई सम्झदैँ भने, ‘प्रशासनलाई हामीले खानाको बिषयमा धेरैपटक कम्प्लेन गरेपनि सुनुवाई भएन ।’ उनले आइसोलेसनमा एकै ठाउँमा भेडा, बाख्राजस्तो कोचेर राख्ने गरेको आरोप लगाए । उनले स्तरीय खाना र बस्नको व्यवस्था भनिएर घरबाट आफूहरुलाई लगिएपनि सोचेजस्तो नभएको गुनासो गरे । ‘नर्मल मानिसलाई त्यतिको खाना ठीकै हुन्छ, तर बिरामीका लागि भने झनै बिरामी भइन्छ,’ उनले भने, ‘पहुँच नहुने र गरिब, विपन्न मानिसको बिजोग हुन्छ ।’

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको उक्त आइसोलेसन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो । ५ असोजदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक सय बेड क्षमता रहेको छ । आइसोलेसन निर्माण समितिका संयोजक भूपेन्द्र बरालका अनुसार इटहरी रंगशालामा १६ वटा शौचालय, ४ वटा वाथरुम, २ वटा लुगा धुने ठाँउ सहितको आइसोलेसन निर्माण गरिएको हो । हाल आइसोलेसनमा ५० जना संक्रमित रहेका छन् । इटहरी ९ का वडाध्यक्ष समेत रहेका बरालले भने, ‘खाना राम्रै छ, अहिलेसम्म त हामीलाई केही कम्प्लेन नै आएको छैन ।’ उनले हप्तामा एकदिन मासु समेत खुवाउने गरेको र सुधार हुँदै गएको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा