लमजुङ । लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ । राइनास नगरपालिकाको आयोजना हिमालयल टाइगर र शंकर स्पोर्टर्स क्लबको व्यवस्थापनमा शिवरात्रीका अवसरमा उक्त प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा अस्ट्रेलिया, जापान, भारत र नेपालका १० जनाले भाग लिएका थिए भने दुई जना रेफ्री सहभागी थिए । उक्त अवसरमा दुई वटा महिला र पुरुषका सो म्याच, पाँच वटा सिंगल र दुई वटा संयुक्त प्रतियोगिता गरिएको गृहजिल्ला लमजुङ भएका नेपाली रेस्लर हिमालय टाइगरका नामले परिचित भरत विसुरालले बताए । उनले भने, ‘अस्टे«लिया र जापानका खेलाडीले आफ्नो स्वदेशमा समेत उक्त खेलको प्रचार गर्ने गरी भिडियो रेकर्ड गरी लगेका छन् ।
यो खेल मूलतः भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको हो ।’ भ्रमणवर्ष भनेको लोगो राख्ने र भाषण गर्नेमा मात्र हो र ? भन्ने प्रश्न गर्दै उनले भने, ‘यो खेलले विदेशमा नेपालमा शान्ती छ, मानिसहरू सुरक्षित छन् भन्ने सन्देश दिन ठूलो मद्दत मिल्ने छ ।’ उनका अनुसार व्यवहारमै लमजुङ र नेपालको प्रचार गर्नका लागि ठूलो काम भएको छ, खेल हेर्नका लागि सायौंको संख्यामा स्थानीयको भिड जम्मा भएको थियो । राइनास नगरपालिका हिमालय टाइगरको जन्म ठाउँ पनि हो । राइनास नगरपालिका– ८, मा उनको जन्म थलो पर्दछ ।

प्रतिव्यक्ति दुई सयका दरले टिकटको प्रवन्ध गरिएको खेलाका लागि ६० हजार रुपैयाँको टिकट विक्री भएको नगरपालिकाले जनाएको छ । मौसमको गडबडीका कारणले टिकटलाई व्यवस्थित गर्न सकिएन टिकट बिनाका मानिसहरू धेरै दर्शक बन्न भ्याए स्थानीय समाजसेवी खड्गबहादुर गुरुङले बताए ।
प्रतियोगितामा भाग लिन अस्टे«लियाबाट हाइपोनोटिक क्रिस ट्रान्स र जापानबाट फुगोफुगो युमैजी आएका थिए । उनीहरूलाई जनही एक लाख २२ हजार नौ सय ६० रुपैयाँका दरले भत्ता दिएको हिमालय टाइगरले बताए । उनका अनुसार भारतबाट वालिया नास्की आएका थिए । त्यस्तै नेपालबाट हिमालय टाइगरका साथै संगीता जिरेल, जमुना तामाङ, युनिका र जुरेलीले भाग लिएको हिमालय टाइगरले बताए ।

रेस्लिङ खेलका सहभागीहरूलाई प्रोत्साहन स्वरुप नगरपालिकाले १०/१० हजार नगद दिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । उनको प्रमुख आतिथ्यतामा गरिएको सो प्रतियोगिता वडा नं–९,का वडाध्यक्ष देवबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राइनास नगरपालिकाका उपमेयर धनकुमारी गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङ विशेष अतिथि थिए ।

उक्त प्रतियोगिताका लागि आफूले सात लाख ९५ हजारको प्रपोजल नगरपालिकालाई दिएको हिमालय टाइगरले बताए । उनले भने, ‘तर नगरपालिकाले जे जस्तो सहयोग होला भन्ने आशा गरिएको थियो, कार्यक्रम सञ्चालन भइरहदा त्यस्तो अनुभव हुन सकेन ।’