काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकार अझै आनाकानी गरिरहेको छ ।
कोरोना महामारी सुरु झण्डै सात महिना पुग्नै लाग्दासमेत सरकारले महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्तामा सुरक्षाकर्मीलाई झुक्याउँदै आएको हो ।
सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत सुरक्षाकर्मीलाई अवस्था हेरेर शतप्रतिशतदेखि तीन सय रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । जसअनुसार अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर संक्रमित, संक्रमण आशंका भएका र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।
त्यस्तै, दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता तथा लकडाउन र सामाजिक दूरी कायम गर्न गराउन खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ दिने निर्णय सरकारबाट भएको थियो ।
तर, महामारी सुरु भएको सात महिना पुग्नै लाग्दासमेत नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका तीनै निकायका सुरक्षाकर्मीले प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।
नेपाली सेनाले ११ चैत २०७६ देखि २०७७ वैशाख मसान्तसम्मको ३२ करोड ५० लाख र १ जेठदेखि असार मसान्तसम्मको ४० करोड ९४ लाख ८ हजार ३ सय माग गरेको छ ।
सेनाले चैतदेखि असारसम्म गरी ७३ करोड ४४ लाख माग गर्दै रक्षा मन्त्रालयमा सिफारिस गरेको हो । सरकारले सुरुदेखिकै भत्ता नदिएपछि असारयताको भने सेनाले माग गर्न हतार गरेको छैन ।
यसैगरी, सशस्त्र प्रहरीले असार मसान्तसम्मको मात्रै १ अर्ब ३० करोड रकम प्रोत्साहन भत्ता माग गरेको छ । नेपाल प्रहरीले गत ११ चैतदेखि २० जेठसम्मको ७१ दिनको १ अर्ब ३४ करोड ८० लाख ६५ हजार ५४ रुपैयाँ माग गर्दै गृह मन्त्रलयमा सिफारिस गरेको छ ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले माग भएबमोजिमको विवरणसहितका विषयमा जानकारी गराइएको तर अर्थ मन्त्रालयबाट थप जवाफ नआएको प्रस्ट पारे । ‘गृहले माग भएबमोजिको प्रस्ताव आवश्यक प्रक्रियाका लागि अर्थ मन्त्रालय पठाएको हो, थप जवाफ अएको छैन,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।
रक्षा मन्त्रालयले समेत सेनाको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको जनाएको छ । ‘हामीले प्रस्ताव अर्थ मन्त्रालयमा पठएका छौं,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘केही प्रगती भएको जानकारी भएन ।’ हालसम्म कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका तीनै सुरक्षा अंगका गरी १० हजार ३० जना कोरोना संक्रमणमा परेका छन् ।
नेपाल प्रहरीका मात्रै ५ हजार ३ सय २९ कोरोना संक्रमित भइसकेका छन् । उनीहरूमध्ये ३ हजार २ सय ४४ निको र २ हजार ८५ जना उपचाररत छन् ।
यसैगरी, नेपाली सेनातर्फ ३ हजार २ सय ४४ संक्रमित र १ हजार ७ सय ६७ जना उपचारपछि निको भएर काममा फर्किएका छन । सेनातर्फ हाल १ हजार ४ सय ७५ उपचाररत छन भने दुई जनाको कोरोना संक्रमणकै कारण निधन भएको छ । त्यस्तै, सशस्त्र प्रहरीतर्फ हालसम्म १ हजार ४ सय ५६ जना कोरोना संक्रमित र १ हजर १ सय ३१ जना उपचारपछि नियमित काममा फर्किएका छन् ।






