कोरोना कहरले उडायो दशैंको रहर

इलाम । ‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौँ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा घन्किन थालेपछि गाउँघरमा दशैको उमंग शुरु हुन्छ । गीतले मात्रै भन्ने होइन, बारीमा पाक्ने बाली सुकिलो हुँदै गरेको बाटो होस या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशै आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिदैन । गाउँ गाउँमा छाउने उमंगले दशै आएको थाहा हुन्छ । त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशैं अयो ।

खुलेको आकाश, चाडबाडको मौसम र दशैमा गुञ्जिने मालश्री धुनले दशैंको उमङ्ग थप्छ । बैशाख–जेठदेखिको मनसुनी बर्षा असोज लागेसँगै अन्त्य हुन्छ र खुलेको प्रकृतिले दशैंको संकेत गर्छ । नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रतियोगिता र यस्तै बाक्लोगरि आयोजना हुने साँस्कृतिक कार्यक्रमले दशैंको खुशी बोकेको हुन्छ । दँशै बालबालिका र युुवाहरुको अझै विषेश हुन्छ । घरवाहिर निस्किएर पेसा व्यवसाय गर्ने, अध्यनको लागि शहर पुगेकाहरु दशैंमा बालसखासंग रमाईले गर्ने योजना दशैंका लागि साच्छन् । सरकारी या नीजि नोकरीमा हुनेहरु दशैंको विदा भइसक्दा घर पुग्ने हतारोमा हुन्छन्, दशैंमा आवश्यक सामान जोरजाम गर्न व्यस्त हुन्छन् ।

दशैंमा गाउँ घर, मठमन्दिरको सफाइदेखि प्रत्येकजसोले लिपपोत गरेर आफ्ना घर चिटिक्क पार्छन् । गाउँघरका बाटोहरु दशैं शुरु भएपछि मर्मत हुन थाल्छन् । बाक्लो आउजाउ, ठाउँ–ठाउँका पिङ र रोटेपिङ र विभिन्न खेलकुदका प्रतियोगिताले दशैंको मूखमा गाउँघर तथा सहर–बजारलाई तताएको हुन्छ । दशैंका लागि अन्नपात र माछा मासूका लागि खसी–कुखुराको जोहो गर्ने चलन छ । दशैंमा परिवारका चाहाना र आवश्यकता परा गर्न अभिभावक लागेका हुन्छन् । नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक सामान जोड्ने समय पनि दशैं नै हो । बालापनमा त झन दशैंको बेग्लै मज्जा हुन्छ । दशैंको नयाँ नाना, खेलौना अनि घरमा आएका पाउनालाई देखाउन दशैं शुरु देखिकै योजना सम्झिँदा छुट्टै अनुभूति हुन्छ ।

नानीहरू रमाउँदा ठूूलाको मनपनि फुरुङ्ग हुने । केटाकेटीलाई स्कुल जान नपर्ने, घरघर डुलेर टीका लगाइने, मनपर्ने मिठो खान पाइने, त्यसमाथि मामाघरको यात्रा, बसाइ, खानपान, दक्षिणा र साथीसँग मेरो पैसा यति भयो भनेर सूनाउन स्कुल लागेको पहिलो दिनको हतारो ले पनि दँशै केटाकेटीको विशेष पर्व बन्दछ । ठूलाको लागि पनि दशैं आफू भन्दा ठूलासँग भेटघाट र आशिर्वाद लिन दशैं नै महत्वपूर्ण रहन्छ । किशोरावस्थामा यो समयमा नयाँ लुगा, जुत्ता र मोटरसाईकल किन्ने योजनामा बाआमासंग घुक्र्याउने चलन पनि छ । परदेशमा हुनेको घर आउने योजना र घरमा भएका परदेशबाट घर आउने दिन गन्दै लामो समयदेखि परदेशीका खानेकुरा साँचेर राख्छन् । बुढेस कालका बा–आमालाई परदेशबाट सन्तान घर फर्कँदाको हर्षले गदगद हुन्छन् । लामो समयसम्म परदेश बसेको छोरा, श्रीमानसँग बसेर दशैं मनाउ नपाउने भएपछि आमा बुबा र श्रीमतीले बेग्लै आनन्द महशुस गर्छन् ।

सहरमा सीमित ठाउँमा रमाएका बालबालिका गाउँ गएर खुला ठाउँमा साथीभाइ र आफन्तसंग खेल्न पाउँदा औधी रमाउँछन् । विदेशमै रहेकाहरु घर आउन नपाएपनि साथि साथि मिलेर दशैंको रमाईलो गर्ने गर्छन । तर यसवर्ष भने दशैको त्यस्तो उमंग छैन । बरु डर त्रास बढि छ । संसारभर फैलिएको कोरोना माहामारीकाले थुप्रैलाई संक्रमित बनाइसकेको छ । कोरोनाको संक्रमण हुनसक्ने चिन्ताले धेरैजना घरैमा थन्किएका छन् । मानिसहरु दँशैको तयारी भन्दापनि कोरोनाको कहरमा छन् । आर्थिक संकट गहिरिँदै गएकाले दशैंको मुखमा छाक टार्ने चिन्ताले सताएको छ । गाउँगाउँमा हुने खेलकुद प्रतियोगीता रोकिएको छ । मनोरञ्जनका लिङ्गे पीङ लगाउने जाँगर छैन । सरकारले दशैमा घुमघाम नगर्न अपिल गरिरहेको छ । त्यसैले यो दशैंमा सधैंको जस्तो उमंग छैन । कोरोनाको कहरले दैशको उमंग फिका बनाइदिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 646 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित