कञ्चनपुर । आलु उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ । हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले उत्पादनमा कमी आएपछि लागत खर्चसमेत उठाउन सकेका छैनन् । आलुका दाना लाग्ने बेलादेखि नै आलुका बोट मरेपछि आलुको उत्पादनमा कमी आएको कृषकहरूले बताएका छन् ।
व्यावसायिक रूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका किसान लक्ष्मण थारूले १० कठ्ठा जग्गामा मुस्किलले एक बोरा मात्रै आलु उत्पादन भएको बताए । आलुका दाना लाग्नेक्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेको उनको भनाइ थियो ।
१० कठ्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन हुन नसकेको किसानहरूले बताएका छन् । बीउ मात्रै पाँच बोरा रोपिएकोमा त्यो पनि उत्पादन हुन नसकेको किसानहरूको भनाइ छ । गत वर्ष मात्रै ३० क्विन्टल आलु उत्पादन भएकोमा यो वर्ष एक बोरा पनि आलु उत्पादन भएको हुन सकेको छैन । मल, कीटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको किसानको भनाइ छ । अर्का किसान सीताराम चौधरीले बारीमा रोपेको आलु पुरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको बताए । बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको बताए । आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै जानुपर्ने अवस्था समेत नभएको ती पीडित किसानहरूको भनाइ छ ।
आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्य बढेको छ । तरकारी व्यवसायीरूका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि भारतीय आलुमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ । सोही कारण भारतीय व्यापारीले मनोमानी रूपमा मूल्यवृद्धि गरी आलु बिक्री गर्दै आएका छन् । जसबाट उपभोक्ता मार्कामा परेका छन् । जिल्लाका बेलौरी, पुनर्वास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ । पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागत रूपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए ।
वर्षा र डढुवा रोगका कारण प्रतिहेक्टर चार मेट्रिक टन आलुको उत्पादनमा ह्रास आएको उनको भनाइ छ । आलु उत्पादनमा ३० प्रतिशतले ह्रास आएको पनि उनले बताए । भट्टका अनुसार जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । जसको उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ । उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ ।






