पोखरा । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति ६३ वर्षको उमेरमा निधन भएको छ । उनको आफ्नै निवास पोखरा महानगरपालिका वडा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो ।
२०१४ जेठ १४ मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीको श्रीमती, ३ छोराबुहारी, ६ जना नातिनातिना छन् । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी केसी सनातन हिन्दू धर्मका पक्षपाति थिए ।
प्रतिनिधिसभा सदस्य चुनावताका राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् । उनी पहिलो संविधानसभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।
पोखराका सफल उद्योगीका रुपमा परिचित केसीले नेपालमै पहिलो पटक चाउचाउ भित्राएका थिए । माछापुच्छे बैंकको संस्थापक अध्यक्ष केसीको हाइड्रो, शिक्षा, व्यापार लगायतमा पनि लगानी छ ।






