काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । शनिबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरे पनि यो निर्णय सार्वजनिक गरिएको थिएन ।
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा सो कार्यदल गठन भएको हो । नेकपा स्रोतले दिएको जानकारीअनुसार कार्यदलको सदस्यमा नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा छन् । नेकपा उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा लामो समयदेखि चलिरहेको छ ।
तर, गौतमले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्यजस्तै प्रधानमन्त्री हुने गरी संविधान संशोधन भए मात्रै आफू राष्ट्रियसभा सदस्य स्वीकार गर्ने बताउँदै आएका छन् । तर, कार्यदल सदस्य रहेका नेम्वाङले संविधान संशोधनका लागि कार्यदल गठन भएको ’boutमा आफूलाई जानकारी नभएको बताए । आफूलाई कुन कार्यदलको सदस्य बनाएको हो भनेर आधिकारिक रूपमा जानकारी नदिइएको पनि उनले बताए ।
‘यदि कुनै कार्यदल गठन हुन्थ्यो भने पहिला मलाई सोधिन्थ्यो, तर कसैलाई सदस्य राख्नुभन्दा अघि सोध्नुभएको छैन,’ नेम्वाङले भने, ‘त्यस्तो कुनै कार्यदल गठन भएको हो भन्ने कुरा मेरो जानकारीमा छैन ।’
केही समयअघि गौतम निवास भैंसेपाटीमा दाहाल, नेपाल, झलनाथ खनाललगायत नेताको सहभागितामा भएको भेलामा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँदै संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
यता, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सचिवालय बैठकमा कार्यदल गठन गर्ने विषयमा छलफल भए पनि गठन नभएको बताए । बैठकमा छलफल भएको सत्य भए पनि कार्यदल गठन नभएको उनले बताए ।
नेकपाले संविधान संशोधन गर्ने क्रममा प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उठाउँदै आएको केही मुद्दा पनि सो सम्बोधन गर्ने आन्तरिक तयारी गरेको छ । जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्ने र संशोधनमार्फत राजपाको माग पनि सम्बोधन गर्दै नेकपाले राजपालाई संघीय सरकारमा भिœयाउने रणनीति बनाएको छ ।
उता, प्रदेश २ मा रहेको समाजवादी पार्टी र राजपा गठबन्धनको सरकार परिवर्तन गर्दै त्यहाँ नेकपा र राजपा गठबन्धनको सरकार बनाउने तयारी नेकपाको रहेको छ । नेकपा अध्यक्ष दाहालले आइतबार जनकपुरधाममा पुगेर प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरिसकेका छन् ।
नेकपाको तमासा : कांग्रेस
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति
जनाएको छ । मधेस, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसको टिप्पणी छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शबिना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन हुन्न भनियो, जनजातिले मागे हुन्न भनियो । दलित, थारू र अरूले मागे, तिनलाई पनि हुन्न भनियो,’ शर्माले भने, ‘तर आज एक व्यक्तिको अनुहार हेरेर संशोधनको तयारी ? गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?’






