महामारी रोक्न स्थानीय सरकारको क्रियाशीलता आवश्यक

कोरोना महामारी संक्रमण आम हुन थालेपछि यसलाई नियन्त्रण गर्न स्थानीय सरकार र यसको क्रियाशीलता नै बढी प्रभावकारी हुने देखिएको छ । देशका विभिन्न स्थानमा स्थानीय सरकारको तहबाटै हरेक गाउँमा पुगेर जनतासँग साक्षात्कार गर्दै कोरोना महामारी संक्रमाविरुद्ध जागरण ल्याउने अभियान थालिएको छ । यो सकारात्मक तथा सराहनीय मात्र नभएर अनुसरण गर्नुपर्ने कार्य पनि हो । हाल त्यहाँ स्थानीय सरकारको नेतृत्वमा सचेत मानिसको समूह निर्माण गरेर यो अभियानको थालनी गरिएको छ । एउटा त यसले स्थानीय जनतामा भावना आदानप्रदान र खुलस्तताको वातावरण निर्माण गर्दछ । अर्को कुरा, स्थानीयका बीचमा कुराकानी हुँदा धेरै जानकारी पाउनुका साथै स्थानीय भाषाको प्रयोगले सिक्न सिकाउन ठूलो मद्दत मिल्दछ । विश्वास जागेपछि मानिसमा सतर्क रहने, सिको गर्ने र समस्या आइहालेमा त्यसको निदान र उपचारका लागि सम्पर्कको माध्यम बनाइराख्ने वातावरण पनि निर्माण हुन जान्छ ।

अर्कोतिर स्थानीय मानिसको सहभागिताले कार्यक्रममा अपनत्वको पनि बोध गराउँछ । कार्यक्रम आफ्नै लाग्छ र आफू पनि सहभागी भएपछि सामाजिक दायित्वबोध हुन जान्छ । अभियानमा लागेका मानिसले मात्र होइन, सहभागी भएका मानिसले पनि यो अर्थमा अभियानकर्मीलाई सिकाउन र बुझाउन सक्छन् । यो प्रक्रिया यथार्थमा संवाहनात्मक हुन्छ र रूपान्तरण हुने÷गराउने, बुझ्ने÷बुझाउने र सिकेका कुरा लिने-दिने एकसाथ हुन जान्छ । यो बढी नै प्रभावकारी हुन्छ । स्थानीय समूह वा टिमले स्थानीय जनताका बीचमा स्थानीय भाषामा हुने कानेखुसी पनि सजिलै बुझ्दछ र उनीहरूका बीचमा तुरन्त भ्रम सफा गर्न पाइन्छ । स्थानीयले पनि विनासंकोच आफ्ना कुराहरू सरल र निर्भयताका साथ राख्न पाउँछन् । यो सामीप्यताको कारणले सम्भव भएको हो । यो कडीलाई जिल्लाले जोड्नुपर्छ । त्यो भनेको जिल्ला समन्वय समिति निर्माण गरेर स्थानीय सरकार र उनीहरूले लिने पहलकदमीलाई सामूहिक र संस्थागत गर्नतिर लाग्नुपर्छ । यसले सामूहिक प्रयत्न र सिंगो प्रतिफल हात पार्न मद्दत गर्दछ । साथै, सहकार्य र सहअस्तित्वको भावना पनि सुदृढ र सबल बनाउँछ । यसले महामारीविरुद्ध लड्न एकजुट बनाउँछ ।

जनताको घरआँगनमा सरकारी सेवासुविधा भन्दै निर्माण गरिएको स्थानीय सरकारका अगाडि पक्कै पनि केही न केही बढी अभिभारा रहेको छ नै । त्यसमा पनि कोरोनाजस्तो महामारी संक्रमणका बखत यो अभिभारा आफैंमा बढेर गएको छ । स्थानीय सरकार आफंैमा पूर्ण रूपमा आत्मनिर्भर, स्वायत्त र जनताको सबैभन्दा नजिकको सरकार हो । यसले स्थानीय जनता र स्थानीयको पिर, मर्का र भावना जति धेरै र जति नजिकबाट बुझ्दछ, प्रदेश तथा संघीय सरकारका लागि यो केही टाढाको विषय अवश्यै हुन्छ । यसको अर्थ हो, यसै कारणले सामीप्य पनि कमी हुन्छ र सेवा तथा सुविधा दिनेलिने कुरा पनि टाढा हुन्छ । त्यसैले, स्थानीय सरकार नै स्थानीय जनतासँग हातेमालो गर्न तयार हुनुपर्छ र जनतालाई दिइने सेवासुविधा र सहयोग पनि स्थानीय सरकारमार्फत नै दिइनुपर्छ । यसका लागि स्थानीय सरकारको निरन्तर क्रियाशीलताको आवश्यकता छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई