नयाँ शिराबाट पर्यटन विकासको खोजी गर

कोभिड–१९ को महामारीमा पनि कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लाम हिमालको सफल आरोहण गरेर नेपाललाई भिन्न शिराबाट पर्यटन प्रवद्र्धनको खोजी गर्नुपर्ने पाठ सिकाएका छन् । बुधबार बिहान ११ः२० बजे आमादब्लाम हिमालको चुचुरोमा पुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दलको सफलतालाई विगतका पर्वतारोहणको निरन्तरताका रूपमा मात्र लिनु नेपालको पर्यटन विकासका लागि ठूलो दुर्भाग्य हुनेछ ।

नेपाल आफंैले पर्यटन वर्ष २०२० घोषणा गरी फिर्ता लिएको दुःखद घडीमा यसलाई समीक्षाको आधार बनाएर सिंगो पर्यटन विकासको विशिष्ट खाका तयार पार्नुपर्छ । कोरोना महामारी सामान्य नभएकाले यसले लिन सक्ने दीर्घकालीन समय र त्यस बीचमा राज्यले गर्न सक्ने सम्भावनाका कुराको राम्ररी विश्लेषण गर्नु जरुरी छ । समस्या आइपर्दा पछि हट्ने र अरू कुनै अमुक समस्या वा व्यक्तितर्फ इंगित गरी आफू चोखिन खोज्ने प्रवृत्ति नेपालीमाझ व्याप्त छ । विदेशबाट आएर नेपालको विशिष्ट सम्भावनालाई उजागर गरिदिने साउदी राजकुमारले नेपालीको सम्भावना पनि नदेख्ने र काम पनि नगर्ने प्रवृत्तिलाई झट्का दिएका छन् ।

नेपाल आफैंमा मौसमी विविधताको देश पनि हो । हावापानी पनि भौगोलिक बनावटअनुसार फरक फरक छ । प्राकृतिक, भौगोलिक विविधता, हावापानी र मौसममा हुने विविधता तिनका सबल र दुर्बल पक्षलाई ध्यान दिने हो भने नेपालले पर्यटनका विविध नयाँ आयामलाई नेपाली विशिष्टतामा विकास गरेर अघि बढाउन सक्छ । त्यसो त अन्य ऋतुभन्दा शरद् ऋतु हिमाल आरोहणका लागि वसन्तपछिको उत्तम मौसममा गणना गरिन्छ । यस बेलामा आकाश पनि स्वच्छ रहने, वर्षाको सम्भावना पनि नरहने, सन्तुलित मौसमका कारण हावाहुरी र हिमपात आदिको पनि कुनै भय नहुने अनुकूल मौसम हो हिमाल आरोहणका लागि । यसलाई मौसमी विशिष्टताका आधारमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटनलाई आकर्षित गर्न सकिन्छ । यो आफैंमा निकै रमणीय पनि हुन्छ । डाँडापाखामा हरियाली हुनु, फूलहरु पाखाभरि फुल्नु, क्षितिज खुल्नु र हिमाल तथा पहाडहरु स्पष्ट रूपमा देखिनु शरद् मौसमका विशेषता हुन् । नेपालमा हिमाल आरोहण भने पनि उही सेतो हिउँ जमेको हिमालको मात्र परिकल्पना गरिन्छ । तर, विदेशी पर्यटकले हिमाल आरोहणमा जाँदा र आउँदाका सिंगो पर्यावरणीय वातावरणको निकै ख्याल गर्छन् र त्यसको छुट्टै आनन्द लिन्छन् ।

यो अतुलनीय प्राकृतिक पर्यावरणीय सौन्दर्य नेपाल र नेपालीका लागि ‘नजिकको तीर्थ हेला’ भनेझैं भएको प्रतीत हुन्छ । आफूले आफैंलाई बुझ्न र चिन्न नसकेर हामी आफैं हराइरहेका छौं । हाम्रो तयारी कति छ, समग्रमा त्यो पनि हामीलाई थाहा छैन । तर, कोरोना महामारीका बीचमा पनि पर्यटकीय नगरी पोखरा, चितवन र अन्य पर्यटकीय गन्तव्य स्थलमा विदेशी तथा घरेलु पर्यटकको आगमनमा बढोत्तरी हुँदै गइरहेको छ । पर्यटकको चहलपहल नेपालको पर्यटन उद्योगका लागि शुभ संकेत हो । यसलाई महामारीको अवस्थामा नेपालको पर्यटन प्रवद्र्धनका लागि एकदमै उपलब्धिमूलक र फलदायी सुरुवातका रूपमा लिनुपर्छ । यसको शिक्षाका रूपमा नेपाली पर्यटन प्रवद्र्धनका लागि नेपालले नयाँ शिराबाट पर्यटन सम्भाव्यताको अध्ययन, अनुसन्धान र प्रयोगमा अघि बढ्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित