प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी भएकाले शिर्ष नेताहरुले त्यसलाई ध्यानमा राखेर सकरात्मक निकास दिने वताए ।
सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास विरोधी, संघीयता विरोधीहरुले खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देसको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने उनले स्पष्ट पारे । नेकपाका नेताहरुले देस र जनतालाई घात तथा खेलवाड गर्ने काम गर्न नसक्ने उनको दाबी छ ।
मुख्य मन्त्री राईले भने, यो पुल प्रदेस नं. १ कै नमुना तथा पहिलो पुल हो, निर्माण शुरु भएको छ महिनामा पुल बन्नु प्रदेसभरीलाई नै अनुकरणीय काम भएको छ । प्रदेस नं. १ ले सञ्चालनमा ल्याएका दर्जनौँ महत्वपूर्ण आयोजनाहरु धमाधम निर्माण तथा उद्घाटन भइरहेका छन्, जसले प्रदेसको समृद्धिलाई टेवा पुर्याएको छ, उनले थपे ।
छिमेकी मुलुकहरुबाट दैनिक हजारौँ पर्यटक भित्र्याउनका लागि तराईदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीसम्म पुग्ने फास्ट ट्रयाकको सर्वे भइसकेको उनले जानकारी दिए । उनका अनुसार उच्चतम् प्रविधिको प्रयोग गर्दै केवलकार तथा सडक निर्माण गरी खुम्बु क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । पुलको निर्माणसँगै यस क्षेत्रमा जनसमुदायले स्थानीय उत्पादनमार्फत आर्थिक समृद्धिमा जोड दिनुपर्ने उनको सुझाव छ ।
सोही अवसरमा संघीय सांसद हेमकुमार राईले निर्वाचनताका उद्घोष गरेका बाचा धमाधम पूरा गर्ने क्रममा रहेको बताए । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूण भूमिका खेल्ने उक्त पुल सोलुखुम्बुको पर्यटनको विकासमा कोसेढुङ््गा सावित हुने धारणा राखे । उनले जिल्लामा सडक, पक्की पुल जस्ता पूर्वाधारका कामलाई प्राथमिकता दिदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सञ्चारका क्षेत्रमा समेत उल्लेखनीय काम भइरहेको दाबी गरे ।
त्यस्तै, प्रदेस नं. १ का योजना तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले प्रदेस सहित तीनै तहको सरकारको सहकार्यमा पुल निर्माण भएको भन्दै अब खुम्बुपासाङ्ल्हमू गाउँपालिका जोड्ने बाँकी पर्यटकीय सडक निर्माणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।
यसै क्रममा प्रदेस सांसद तथा नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएसँगै गुणस्तरीय सडक निर्माणका लागि प्रदेस सरकारसँग आग्रह गर्नुभयो । अर्का प्रदेस सांसद उत्तम बस्नेतले उक्त पुल सोलुखुम्बुको तल्लो र माथिल्लो क्षेत्रको पर्यटनको विकासका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।
पुल निर्माणमा अहोरात्र खटेर निर्धारित समय भन्दा निकै अघि पुल निर्माण सम्पन्न गर्न सफल भएको भन्दै माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले यस कार्यमा सहयोग गर्ने संघीय तथा प्रदेस सरकारलाई धन्यवाद दिए । यो पुलले गाउँपालिकाभित्रका जनताको जीवनस्तर परिवर्तन गर्ने उहाँको विश्वास छ ।
पुल उद्घाटनका क्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक विरकुमार राई, खुम्बुपासाङल्हमू गाउँपालिकाका कार्यबाहक अध्यक्ष टसील्हमू शेर्पा, नेकपा सोलुखुम्बुका अध्यक्ष मानविर राई, सचिब गोम्बु शेर्पाले जिल्लाको वर्तमान विकास निर्माणको अवस्था तथा समसामयिक विषयमा धारणा राखे ।
खुम्बुपासाङल्हमू गाउँपालिका र माप्य दूधकोशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा लिइएको उक्त पुलको निर्माण भ्याट सहित ८ करोड ३४ लाख रुपियाँको लागतमा जलप नेपालले निर्माण गरेको हो । २०७६ साल मङ्सिरमा सम्झौता गरी गएको बैशाखमै निर्माण सम्पन्न भए पनि कोभिड १९ का कारण उद्घाटन ढिला भएको बताइएको छ ।






