पोखरा ।फेवातालमा सोमबार डुंगा डुब्दा १ जना बेपत्ता भएका छन् । अन्य २ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
तीनजना सवार डुंगा सोमवार दिउँसो साढे १ बजे डुबेको हो । डुंगा डुब्दा काठमाडौं महानगरपालिका वडा १०, कपन निवासी २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए ।
त्यस्तै डुंगासँगै तालमा डुबेका काठमाडौ महानगरपालिका–१० कपन निवासी २७ वर्षीय सुविन चालिसे र सोही ठाउँ निवासी २८ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरु तालमा डुबेको सूचना प्राप्तसँगै तालकै छेउमा रहेको गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको रेस्क्यू टिम र सीआरभी हल्लनचोक लेकसाइडको टोलीले तालमा डुबेका उनीहरुाको सकुशल उद्धार गर्न सफल भएको थियो ।
प्रहरीका अनुसार तालमा बेपत्ता लुइँटेलको खोजी जारी छ । उनीहरुले डुंगा भाडामा लिएर सयरमा निस्केका थिए ।






