काठमाडौं । सन्देशप्रधान गीत खासै सुन्ने चलन छैन । तर ट्राफिक सन्देश समेटिएको एउटा नेपाली गीतले रिलिज भएको दुई सातामै १७ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीतलाई दैनिक १ लाखभन्दा बढीपटक दर्शकले हेर्दै आएका छन् ।
संगीतकार जुगल डंगोलको संगीतमा तयार भएको ट्राफिकसम्बन्धी चेतनामूलक गीत रातो बत्तिमा रोकिने…ले दुई सातामा १७ लाख भ्युज पाएको हो । गीतमा ट्राफिकका सबै नियमलाई समेटेर म्युजिक भिडियोमा तयार गरिएका कारण पनि यसले दर्शकको साथ पाएको संगीतकार जुगलले बताए ।
यो गीतलाई बाबुराम दाहालले लेखका हुन् । जसमा सरोज ओली र एलिना चौहानको स्वर रहेको छ । पाँच वर्षअघि सरोजले निकालेको यो गीतलाई परिमार्जन गरेर अहिलेको नियमअनुसार तयार गरेका छन् ।
सहिन प्रजापतिको निर्देशनमा यो गीतको भिडियोलाई शुभ मिडिया होमले निर्माण गरेको हो । भिडियोलाई गज्जव टिभीबाट रिलिज गरिएको छ ।
जसमा गायक सारोज ओलीसहित अभिनेत्री रेजिना उप्रेती, कलाकारहरू सहिन प्रजापति, जीवेशसिंह गुरुङ, सुनिसा बजगाईं, कुशल विष्ट, अनिता बस्नेत, आस्मा गिरीले अभिनय गरेका छन् ।
पहिलो रेकर्ड गरेर युट्युबमा राखिएको यो गीतलाई दर्शकले नियमित रूपमा खोजेर हेरेपछि गीत परिमार्जन गरेर पुन रेकर्ड गरी नयाँ भिडियो ल्याएको गायक सरोजले बताए ।
बालकृष्ण ओलीको संयोजनमा तयार भएको यो गीतको भिडियोमा गोकुल अधिकारीको छायांकन, अमन मानन्धरको सम्पादन, रेनिस फागोको रंग संयोजन छ ।