सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै हाल विद्यालय संचालनमा नल्याउने नगरपालिकाका पदाधिकारी तथा प्रधानाध्यापकको संयुक्त बैठकले निर्णय गरेपनि अघिल्लो दिन मात्र संचालनमा आएका यस नगरपालिका भित्रका केही विद्यालय सोमबार सूचना टाँस गर्दै पुनः बन्द गरिएको हो ।
उक्त नगरपालिकाभित्र २४ सामुदायिक विद्यालय छन् । अधिकांश गत चैत ११ देखि नै बन्द छन् । कोरोनाको जोखिम कायमै रहेकाले आइतबारदेखि फाटफुट रुपमा संचालनमा आएका विद्यालयहरु पनि अर्को निर्णय नभएसम्मका लागि सोमबारदेखि पुनः बन्द गर्ने निर्णय भएको नगरप्रमुख योगेन्द्र प्रसाद चौधरीले बताए ।
अघिल्लो दिन संचालनमा आएर सोमबार पुनः बन्द गरिएका उक्त नगरपालिका २ स्थित श्री आधारभुत विद्यालय कनकपटीका प्रधानाध्यापक असगर मो. मियाँले सरकारले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिका अनुसार सुरक्षा सतर्कता मापदण्ड अपनाएर कक्षा संचालन गर्ने प्रयास गरिएपनि विद्यार्थीको झिनो उपस्थिति तथा नगरकार्यपालिकाका पदाधिकारी र प्रअहरुको संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको ठहर गर्दै सोमबारदेखी पुनः विद्यालय बन्द गर्ने निर्णय गरिएपछि सूचना टाँस गरिएको बताए । २ सय ७५ विद्यार्थी रहेको उक्त विद्यालयमा आइतबार १४ जना मात्र उपस्थित भएका थिए ।
१८ स्थानिय तह रहेको सप्तरी जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजि विद्यालय छन् । समुदायिकतर्फ १ लाख ७ सय ६ तथा निजि विद्यालयका ३४ हजार ६ सय २९ गरि कक्षा १ देखी १२ सम्म कुल १ लाख ३५ हजार ३ सय ३५ विद्यार्थी जिल्लामा अध्ययनरत छन् ।
जिल्ला शिक्षा तथा समन्वय इकाई सप्तरीका प्रमुख फनिन्द्र खत्रीका अनुसार कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखि बन्द विद्यालयहरु सरकरले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिकाको पालना गर्दै खोल्न स्थानिय तहलाई अनुमति प्रदान गरिएको छ । जसअनुसार जिल्लाका राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सम्बन्धीत ठाउँका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक राखी विद्यालय संचालनको निर्णय गरिसकेको छ ।
बाँकी स्थानिय तहले भने हाल विद्यालय संचालन गर्ने नगर्ने विषयमा संयुक्त बैठक बस्ने तयारी गरिरहेको जानकारी आफूलाई प्राप्त भएको उनको भनाई छ । यता कतिपय विद्यालय खुलेर पनि बन्द हुनु, कतिपय संचालनमा आउनु र कतिपय खुल्नै बाँकी रहँदा विद्यार्थी तथा अभिभावक अन्यौलमा परेका छन् ।