सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ । सरकारले सिन्धुपाल्चोक र वाग्लुङ जिल्ला लाई विपद संग्रटग्रस्त क्षेत्र घोषणा गरेपछि पुननिर्माण प्राधिकरण र राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञहरुको टोली अध्ययनको लागि जुगल गाउँपालिकाको जोखिम बस्तीहरुमा पुगेको थियो ।
जोखिममा रहेका बस्तीहरुको स्थलगत अध्ययन गर्ने र स्थान्तरण गर्नुपर्ने भए सम्भावित स्थानहरुको समेत अध्ययन गर्नका लागि विज्ञहरुको टोली जोखिम क्षेत्रमा पुगेर अध्ययन सुरु गरेको थियो । पुननिर्माण प्राधिकरण, राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ टोली, स्थानीय तहका जनप्रतिनिधि र स्थानीबासी समेतलाई सहभागी गराएर आफुहरुको टोलीले जोखिम क्षेत्रको अध्ययन गरेको जिल्ला आयोजना कार्यन्वयन इकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।
जियोलोजिस्ट,जियोटेक इन्जिनियर, अर्वान प्लानर, डीएलपीयुका आयोजना प्रमुख, नापी अधिकृत, सम्बन्धीत पालिकाका इन्जिनियरसहित नौ जनाको टोली अध्ययनको लागि गएको प्रमुख निरौलाले जानकारी दिए ।
विज्ञहरुको टोलीले पहिरोबाट ठुलोजनधनको क्षती भएको जुगलको लिदीसहित बोल्दे,नाम्फा, सञ्चगाउँ र विस्थापितहरु बसिरहेको बाँसखर्क सम्म पुगेर आफुहरुलाई दिएको मुख्य दुई वटा जिम्मेवारी पुरा गरेको प्रमुख निरौलाले जानकारी दिए । हामीलाई मुख्य दुइ वटा जिम्मेवारी दिएर पठाइएको थियो प्रमुख निरौलाले भने जोखिममा रहेका बस्तीहरुको अध्ययन र स्थान्तरण गर्नुपर्ने भए सम्भावित स्थल ।
‘हामीले त्यो काम पुरा गरेका छौं, अब फिल्डमा गएर ल्याएको तथ्यांकलाई आधार मानेर सयुक्त, रिपोर्ट हामी दिन्छौं ।’ अध्ययन टोलीको प्रतिवेदन पछि मात्रै के गर्न सकिन्छ भन्ने टुगो लाग्ने प्रमुख निरौलाले बताए । ‘हामीले जनप्रतिनिधि र स्थानीयलाई राखेर अन्तरक्रिया समेत गरेका छौं’, निरौलाले भने ।

जोखिम क्षेत्रका स्थानीयले जोखिम क्षेत्र छ भने हामीलाई भनिदिनुहोस्,हामी अन्यत्रै जान चाहन्छौं भनेर आफुहरुलाई भनेको उनले बताए । ‘कम जोखिम रहेको क्षेत्रमा केही संरक्षणका कामहरु गरेर बस्न सकिन्छ भने हामी यही बस्छौं, बस्न नसक्ने हो भने पनि हामीलाई भनिदिनुहोस्, हामी सुरक्षित स्थानमा जान्छौं’, स्थानीयको भनाई उधृत गर्दे प्रमुख निरौलाले भने ।
जोखिम बस्तीका स्थानीयले आफुहरु थातथालो छाड्नुपर्ने हो भनेपनि परम्परागत सस्कृति लगायत पर्याप्त भौतीक सुविधाको व्यवस्था गरेर मात्रै स्थान्तरण हुन चाहेको बताउँदै आएका छन् । लिदी पहिरोबाट विस्थापित भएकाहरु अहिले जुगल–१ मा रहेको बाँसखर्क जंगल क्षेत्रमा बस्दै आएका छन् । खेतीपाती गर्ने सिजन सुरु भएकाले अहिले अधिकांश स्थानीय लिदीमा नै रहेको अध्ययनका लागि पुगेका जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन)का प्रमुख निरौलाले जानकारी दिए ।
यो वर्षको बाढीपहिरोले सबैभन्दा बढी मानविय क्षती भएको जुगलको लिदी र आसपासको बस्तीबाट भौगर्भिक अध्ययन सुरु गरिएको र यसको प्रतिवेदन आएपछि बाह्रविसे,भोटेकोशी लगायत विपदबाट प्रभावित अन्य स्थानीय तहमा पनि विज्ञ टोली जाने निरौलाले बताए ।
लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाको अगुवाइमा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुको पहलमा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए । उनले संघ र जिल्लामा फरकफरक बैठककको आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल पछि विज्ञहरुको टोली जुगल पुगेको हो ।







