काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा यतिबेला नयाँ नेतृत्वका लागि मतदान जारी छ । हालसम्म दुई हजार मत खसिसकेको छ । अझै पाँच हजारभन्दा बढीले भोट हाल्न बाँकी । मतदाताहरू बिहानैदेखि लाइनमा छन् ।
तर मतदान जारी रहँदा उम्मेदवारहरूले आफूअनुकूल सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका सूची बाँड्न थालेपछि सभापतिका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा असन्तुष्ट बनेका छन् ।
मतदानस्थलमै रहेका थापाले २८ वटा सूची अहिले ह्वाट्सएपमा घुमिरहेको भन्दै आफ्नो नाममा आएका सूचीमा विश्वास नगर्न भनेका छन् । थापाले गुट भत्काउने प्रयास भइरहेको भन्दै एकैपटक असम्भव रहेको बताए ।
थापाले सामाजिक सञ्जालमा लेख्दै यसपटक कुनै प्यानल र गुट नभएको स्पष्ट पारेका थिए । ‘यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गर्दछु । यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ,’ थापाले लेखेका थिए, ‘यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु । यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो । यसपटक कुनै पनि प्यानल वा गुट छैन । मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला । कुनै पनि अफवाहमा नलाग्नुहोला ।’
सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न उनले आग्रह गरेका थिए ।
त्यस्तै, उपसभापति शर्माले पनि नेता तथा अरूले आफूअनुकूल र सहजताका लागि बनाएको सूचीमा विश्वास नगर्न आग्रह गरेका छन् । आफूहरूले कुनै सूची नै नबनाएको उनले बताएका छन् ।
‘हाम्रो नाम जोडेपछि भोट आउँछ भनेर हामी दुई भाइ (गगन थापा–विश्वप्रकाश शर्मा) ले सूची बनाएका छन् भनेर १० वटा सूची बाँडिएको छ,’ शर्माले भने, ‘हामीले कुनै सूची बाँडेका छैनौँ ।’
महाधिवेशन प्रतिनिधिहरूका अनुसार यतिबेला देउवा समूहका केही नेताले बागबजार र पुतलीसडकमा बसेर उम्मेदवारका सूची बनाइरहेका छन् । र, त्यसलाई खुलामञ्च र भुकुटीमण्डपमा ल्याएर बाँड्न थालेका छन् । धेरै महाधिवेशन प्रतिनिधिको ह्वाट्सएपमा अहिले सूची पुगेका छन् । थापा र शर्माले आफूहरूमा विभाजन ल्याउन यस्तो खेल खेलिएको आशंका गरेका छन् ।
सम्बन्धित समाचार
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत
कांग्रेस देउवा समूहको पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा
एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको इन्ट्री
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व





