किभ । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली हो । रियलले सर्वाधिक १३ पटक उपाधि जितेर यसलाई प्रमाणितसमेत गरेका छन् । तर, पछिल्लो समय च्याम्पियन्स लिगमा रियलको प्रदर्शन निकै कमजोर छ । पछिल्लो दुई सिजन क्वार्टरफाइनलबाट अघि बढ्न नसकेको रियल यसपटक समूह चरणबाटै बाहिरिने सम्भावनासमेत बढेको छ । समूह ‘बी’को पाँचौं राउन्डको खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग २–० ले पराजित भएसँगै रियलको अघिल्लो चरणको यात्रा कठिन बनेको हो । समूहमा ५ खेलबाट ७ अंक जोडेको रियल तेस्रो स्थानमा छ । साख्तरको पनि ७ अंक रहेपनि हेड टु हेडमा दोस्रो स्थानमा छ । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाक ८ अंकसहित शीर्षस्थानमा रहँदा इटालियन क्लब इन्टर मिलानले ५ अंक जोडेर नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ । यसको अर्थ सबै चार टोलीको अघिल्लो चरण पुग्ने सम्भावना रहेको छ ।
अर्काे साता रियलले घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडवाकको तथा इन्टर मिलानले साख्तरसँग प्रतिस्पर्धा गर्दै छ । रियललाई प्रि–क्वार्टरफाइनल प्रवेश गर्न मोन्चेनग्लाडवाकविरुद्ध निश्चित जितको खाँचो छ । हारले समूह चरणबाटै बाहिरिँदा बराबरीले अर्काे खेलको नतिजा कुर्नुपर्नेहुन्छ । रियल बराबरीमा रोकिएको अवस्थामा इन्टरले साख्तरलाई हराए हेड टु हेडमा रियल अघिल्लो चरणमा जानेछ । रियल बराबरीमा रोकिएकै अवस्थामा इन्टर र साख्तरले बराबरी खेले हेड टु हेडमा साख्तर अघि बढ्नेछ । रियल मड्रिड साख्तरसँग दोस्रो राउन्डमा पनि पराजित भएको हो । पहिलो खेलमा रियल घरेलु मैदानमै ३–२ ले स्तब्ध बनेको थियो । साख्तरको जितमा डेन्टिन्हो र सोलोमोनले गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरि एकपटक कमजोर प्रदर्शन गर्दा हार भोग्न बाध्य बनेको हो । फरवार्ड करिम बेन्जेमाले चोटबाट पुनरागमन गरेपनि सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् । ५७औं मिनेटमा डेन्टिन्होले रियलको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए । पेनाल्टी क्षेत्रभित्र गएको थ्रु पास डिफलेक्ट भएपछि गोलरक्षक लगायत सबै डिफेन्डरले बल छोड्दा डेन्टिन्होले गोल गरेका थिए । ८२औं मिनेटमा काउन्टर अट्याकमा शाख्तारले अग्रता दोब्बर पार्दे जित पक्का ग¥यो । सोलोमोनले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गोल गर्दा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले रोक्न सकेनन् ।
यता, बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल गरेपछि इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । इन्टर मिलानको यो जितले समूह ‘बी’बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ । माटियो डार्मियनले एक गोल थपे । घरेलु टोलीका लागि एलासेन प्लेयाले दुई गोल गरे पनि हार टार्न सकेन ।
यस्तै निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा थोमस मुलरले पेनाल्टीमार्फ गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको छ । बायर्न र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेको हो । २६औं मिनेटमा जोओ फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाइसकेका पोर्चुगिज क्लब एफसी पोर्टाे र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । समूह ‘सी’मा शीर्षस्थानमा रहेको सिटीले ५ खेलबाट १३ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पोर्टाेले १० अंक जोडेको छ । ओलम्पियाकोस र मार्सेको समान ३ अंक छ ।
लिभरपुल नकआउट चरणमा
डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा कर्टिस जोन्सले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । लिभरपुलको ५ खेलबाट १२ अंक रहेको छ । समान खेलबाटै एट्लान्टाको ८ तथा आयाक्सको ७ अंक छ । मिट्जेल्यान्डको १ अंक छ । यही समूहको अर्काे खेलमा एटलान्टा र मिट्जेल्यान्डको १–१ गोलको बरारी खेल्दै अंक बाँडेका छन् ।






