नेपालमा राष्ट्रिय गौरवका आयोजनाले गति लिन नपाउँदा देशले ठूलो समस्या झेल्नु परिरहेको छ । ससाना र स्थानीय आयोनाहरू त पूरा हुने तर तिनले राष्ट्रिय गौरवका आयोजनासँग जोडिने र दूरदराजका विकास निर्माणका कामलाई समेत जोड्न नसक्ने भएकाले देशको सर्वांगीण विकासमा बाधा पुगेको छ । त्यसो त राष्ट्रिय गौरवका आयोजना आफंैमा दीर्घकालीन प्रकृतिका हुने भएकाले पनि छोटो समयमा प्रतिफल हात लागिहाल्ने अपेक्षा गर्न सकिँदैन । तथापि देशमा अंशअंशमा भए÷गरेका कामहरूलाई राष्ट्रिय मूल प्रवाहमा ल्याएर समग्र विकासका लागि अघि बढाउन राष्ट्रिय गौरवका आयोजनाले नै नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नेमा आशंका रहँदैन । अहिले राष्ट्रिय गौरवका आयोजना देशभर कार्यान्वयनको अवस्थामा छन् । कतिपय त समयसीमा सकिएर पनि पुनः निर्माण, थप निर्माण र समयावधि लम्ब्याउने अवस्थामा छन् । यिनको अपूरो कामले गर्दा एक त देशको बजेट हरेक वर्ष खर्चिनु परिरहेको छ भने अर्कोतिर काम समयमै सम्पन्न नहुँदा न त पुराना सञ्चालनमा आउन सकेका छन्, न त नयाँ राष्ट्रिय गौरवका आयोजना निर्माणको ढोका खुल्न सकेको छ । बरु यिनले इमानदार र कर्तव्यनिष्ठ अभिभावकको खोजी गरिरहेका छन् ।
हाल देशमा सडक, खानेपानी, सिँचाइ नहर, अस्पताल, शिक्षण संस्था, कृषि तथा औद्योगिकीकरणका विभिन्न सेक्टरमा पूर्वाधार निर्माणका लागि थालनी गरिएका राष्ट्रिय गौरवका आयोजना अलपत्रताको अवस्थामा छन् । यस्तो बेलामा ढिलै भए पनि देशका प्रधानमन्त्रीले चासो लिनु र कार्यसम्पादनका लागि निर्देशन दिनु राम्रो कुरा हो । त्यसो त राष्ट्रिय योजनाका कार्यक्रमहरूको रेखदेख, निर्देशन तथा अनुगमनका लागि पनि प्रधानमन्त्री मातहतको विभागमा यिनको कार्यकारी अधिकार सारिएको छ । हाल २४ वटा राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयले छलफल गरेर आयोजनाको कामलाई प्रभावकारी बनाउने गरी अघि बढ्न निर्देशनसमेत दिएको छ । अभिभावकत्वको पर्खाइमा रहेका यस्ता आयोजनाहरूले थोरै मात्र भए पनि निर्देशन, आडभरोसा वा आधार पाएमा गति लिन सक्ने पनि देखिन्छ । हाल प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकारसहित सरकारका उच्च अधिकारीहरूले सिँचाइका क्षेत्रमा अपुरै रहेका नेपालको पश्चिमी भूभागमा रहेका महाकाली, रानीजमरा, बबई तथा सिक्टा सिँचाइ आयोजनाको स्थलगत भ्रमण र अनुगमन गरी यी योजनहरूमा केही प्राण भर्ने काम गरेका छन् । यसप्रकारको अनुगमनलाई आयोजना सम्पन्न नहुँदासम्म निरन्तर रूपमा अघि बढाउनुपर्छ । कम्तीमा भ्रमणपछि यसका कमीकमजोरी, आवश्यक थप सहयोग, प्रविधि तथा बजेट आदिको कुरामाथि ध्यान दिइनेछ । यसले यस्ता राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन बल पुग्नेछ ।
यदि राष्ट्रिय गौरवका आयोजनाका कार्यक्रमहरूको समयमै अनुगमन, निरीक्षण र आवधिक मूल्यांकन गरिने परम्परा बसालिएमा देशले विकास निर्माणका क्षेत्रमा ठूलो गति लिन सक्नेछ । नेपालमा अंशअंशमा भएका विकास निर्माणका कामहरू राष्ट्रिय गौरवका आयोजनासँग जोडिएमा देशले गुणात्मक फड्को लिएको मानिनेछ । मात्रात्मक रूपमा गरिएका विकास निर्माणका कामहरू राष्ट्रिय गौरवका आयोजनामा जोडिने बित्तिकै सिंगो देश नै एकैपटक गतिमय भएको देखिने सम्भावनालाई देख्न सक्नुपर्छ । यसले मात्र देशको समग्र विकासलाई एकीकृत र सर्वांगीण स्वरूपमा प्रदान गर्न सहयोग गर्नेछ । यस्तो बेलामा देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीले देखाएको चासो र लिएको पहलकदमी आफंैमा सराहनीय छ । यसबाट राष्ट्रिय गौरवका आयोजनाले राष्ट्रिय अभिभावक पाएको महसुस गर्ने अवसर पाऊन् ।






