काठमाडौं । नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल पक्षले आज पार्टीको महासचिव चयन गर्ने भएका छन् ।
पार्टी महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले प्रचण्ड माधव पक्षले नयाँ महासचिव चयन गर्न लागेका हुन् ।
नेकपाका एक नेताका अनुसार नेकपाको विधानमा पार्टीको बैठक महासचिवले बोलाउनुपर्ने प्रावधान छ । पहिलो बैठकमा प्रचण्ड नेपालको सहमतिमा भएको थियो भने आज पनि पहिलो बैठककै निरन्तरता भएकाले आगामी बैठकका लागि महासचिव छान्नै पर्छ ।
यदि महासचिव नबनाउने हो भने पार्टीको विधान नै संशोधन गर्नुपर्ने हुन्छ । महासचिव बन्ने सम्भावित नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा, घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डे महासचिवका सबै भन्दा बलिया उम्मेदवार मानिन्छन् । अघिल्लो महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित भएकाले पनि उनको सम्झावना धेरै छ ।






