विमानस्थलमा निगमले थप्यो चारवटा रिफिलर

काठमाडौं । नेपाल आयल निगमले विमानस्थलमा १० वर्षपछि चारवटा हवाई इन्धन बोक्ने रिफिलर थप गरेको छ । निगमले काठमाडौंको हवाई इन्धन डिपो सिनामंगलमा २७-२७ किलोलिटरका चारवटा रिफिलर १२ करोड ७७ लाख लगानीमा थप गरेको हो । निगमका अनुसार ३ करोड १९ लाख २५ हजार रुपैयाँमा खरिद गरिएको छ । यसअघि निगमले नयाँ रिफिलर खरिद गर्न नसक्दा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट भाडामा लिएर इन्धन आपूर्ति गरिरहेको थियो ।

नयाँ रिफिलर सञ्चालनमा आउने भएपछि एक महिनाअघि मात्र २७ हजार र १६ हजार लिटरको दुईवटा रिलिफलर फिर्ता गरेको निगमले जानकारी गराएको छ । निगमका अनुसार १६ हजार लिटर क्षमताको दुईवटा रिफिलर जनकपुर विमानस्थलमा प्रयोग गरिरहेको छ ।

यसअघि अन्तर्राष्ट्रिय हवाई उडानका लागि तीनवटा मात्र रिफिलर हुँदा उडानको चाप हुँदा इन्धन आपूर्ति लागि अपुग भएपछि नयाँ थप गरिएको निगमले जानकारी दिएको छ । कोभिड–१९ को कारणले गर्दा उडान कम भएकाले आपूर्तिमा कुनै समस्या नभए पनि सामान्य अवस्थामा व्यवस्थापन गर्न समस्या पर्ने गरेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय किलोलिटर देखि ६ सय किलोलिटरसम्म इन्धन खपत हुने हुँदा कम क्षमताको रिफिलर गर्दा इन्धन आपूर्ति गर्न धेरै समस्या हुने गरेको थियो ।

चारवटा रिफिलर थप गर्दा अबका दिनमा हवाई इन्धन आपूर्ति गर्न धेरै सहज हुने नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगलका प्रमुख अभिषेक ठाकुरले जानकारी दिए । उनले यसअघि निगमसँग हवाई इन्धन गर्न आपूर्ति गर्ने रिफिलर नहुँदा उडानका लागि इन्धन आपूर्ति गर्न कठिन हुने गरेको बताए ।

उनले इन्धन आपूर्ति गर्ने पर्याप्त रिफिलर नहुँदा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट भाडामा लिएर इन्धन आपूर्ति गरिरहेको बताए । डिपो प्रमुख ठाकुरले भने, ‘हवाई इन्धन आपूर्तिका लागि आईओसीसँग चारवटा रिफिलर भाडामा ल्याएको थियो । अहिले चारवटामध्ये दुईवटा रिफिलर फिर्ता गरिसकेको छ । दुईवटा भने अहिले पनि सञ्चालन ल्याएको प्रमुख ठाकुरले बताए । उनले निगमसँग आवश्यक इन्धन बोक्ने रिफिलर नभएकै कारण हवाई उडान धेरै भएको समयमा पनि इन्धन आपूर्ति गरेको बताए ।

डिपो प्रमुख ठाकुरले भने, ‘निगमसँग ठूलो क्षमताको रिफिलर नहुँदा विशेषगरी अन्तर्राष्ट्रिय हवाई उडानको चाप भएको समयमा आपूर्ति कठिन हुने गरेको थियो ।’ उनले भने, ‘त्रिभुवन विमानस्थलमा यसअघि आन्तरिक हवाई उडानका लागि इन्धन आपूर्ति गर्न २७ किलोलिटरका दुईवटा, १६ किलोलिटर चारवटा र ११ किलोलिटर क्षमताको एउटा रिफिलर थियो । अबका दिनमा ११ वटा रिफिलरले एकैपटक २ लाख ३७ हजार लिटरसम्म इन्धन राख्न सक्ने क्षमता भएको बताए ।

डिपो प्रमुख ठाकुरले सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक ५ लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । उनले आन्तरिकतर्फ १ लाख र अन्तर्राष्ट्रियतर्फ ४ लाख लिटरसम्म इन्धन खपत हुने गरेको बताए ।

डिपो प्रमुख ठाकुरका अनुसार आन्तरिकतर्फ १ लाख र अन्तर्राष्ट्रियतर्फ ४ लाख लिटरसम्म इन्धन खपत हुने गरेको छ । कोभिडको कारणले सात महिनादेखि उडान ठप्प अवस्थामा रहेका थिए । केही समयदेखि उडान सुरु भएसँगै हवाई इन्धनको खपत पनि बढ्दै गएको छ । अहिले १ लाख ५० हजारदेखि २ लाख लिटरसम्म दैनिक हवाई इन्धन खपत हुने गरेको उनले जानकारी दिए ।

सिनामंगल डिपोमा ७० लाख लिटर क्षमताको हवाई इन्धन भण्डारण रहेको छ । नयाँ बनिरहेका भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर थप रिफ्युलर सञ्चालन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । उपत्यकाबाहिर रहेका विमानस्थलमा हाल २० वटा रिफिलरले हवाई इन्धन भर्ने काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि