काठमाडौं । १२ औं संस्करणको बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी अवार्ड चलचित्र छक्कापन्जा–३ ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर पोखरामा शुक्रबार राति आयोजना गरिएको यो अवार्डमा अघिल्लो वर्ष रिलिज भएका नेपाली चलचित्रहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो ।
सो समारोहमा चलचित्र छक्कापन्जाले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै, यही चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड थापिन् । यस्तै, छक्कापन्जा–३ बाट केदार घिमिरेले हास्य कलाकारको अवार्ड हासिल गरे भने यही चलचित्रबाट जितु नेपालले सहअभिनेताको अवार्ड प्राप्त गरे । विपिन मल्लले छक्कापन्जा–३ बाटै सम्पादन विधाको अवार्ड थपे भने पुरुषोत्तम प्रधानले पनि यही चलचित्रबाट उत्कृष्ट छायाकारको अवार्ड हासिल गरे ।
यस्तै, छक्कापन्जा–३ बाटै उत्कृष्ट गायकको अवार्ड पहिलो नम्बरमा गीतबाट डेभिड शंकरले, संवादतर्फको अवार्ड दीपकराज, जितु, केदार र यमन श्रेष्ठले, चरित्र अभिनेत्रीको अवार्ड लक्ष्मी गिरीले हासिल गरिन् ।
नृत्य निर्देशन तर्फको अवार्ड छक्कापन्जा–३ बाटै पहिलो नम्बरमा गीतबाट कविराज गहतराजले, यस्तै, ध्वनि मिश्रणको अवार्ड सुनयमान श्रेष्ठले, उत्कृष्ट प्रोडक्सन म्यानेजरको अवार्ड सुमन गिरीले, मेकअपको अवार्ड गणेश खडकाले र ड्रेस डिजाइनको अवार्ड कायरा बुटिकले हासिल गरेको छ ।
यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बुलबुलबाट स्वस्तिमा खड्कालाई, पटकथा र क्रिटिक्सको अवार्ड पनि बुलबुलबाटै विनोद पौडेललाई प्रदान गरिएको छ ।
यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रसादबाट विपिन कार्कीले, खलचरित्रको अवार्ड चलचित्र प्रसादबाटै निश्चल बस्नेतले, उत्कृष्ट कथाको अवार्ड सुशील पौडेलले, गीतकारको अवार्ड लै लै…गीतबाट गणेश शाहीले, यही गीतबाट संगीतकारको अवार्ड सुवास भुसालले चलचित्र ‘प्रसाद’बाटै हासिल गरे ।
यस्तै द्वन्द्व निर्देशकको अवार्ड चलचित्र भिलेनबाट शुक्रराज शाहले, नव अभिनेताको अवार्ड चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’बाट धिरज मगरले, नव अभिनेत्रीको अवार्ड चलचित्र ‘ए मेरो हजुर–३’ बाट सुहाना थापाले हाँसिल गरेका छन् ।
नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ को चरित्र अभिनेतातर्फको अवार्ड चलचित्र बोबीबाट विजय लामाले, बाल कलाकारको अवार्ड चलचित्र ‘नाई नभन्नु ल–५’ बाट सेड्रिना शर्माले, गायिकातर्फको अवार्ड चलचित्र क्याप्टेनको ‘रहर छ…’ गीतबाट अन्जु पन्तले, स्वरांकनतर्फको अवार्ड ‘ए मेरो हजुर–३’ बाट नवीन श्रेष्ठले हासिल गरे ।
यस्तै, गत वर्षको पपुलर अभिनेताको अवार्ड अनमोल केसीलाई, पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्यलक्ष्मी शाहलाई, विशेष चलचित्रको अवार्ड चलचित्र क्याप्टेनका लागि भुनव केसीलाई, इन्करेजमेन्ट अवार्ड चलचित्र बोबीका लागि निर्देशन मिलन चाम्सलाई प्रदान गरियो ।
यस्तै पोस्ट प्रोडक्सन हाउसको अवार्ड क्लासिक स्टुडियोको दिनेशसिंह महरालाई, उत्कृष्ट सिनेमा हलको अवार्ड क्यूएफएक्स सिनेमालाई, चलचित्र वितरणतर्फ काठमाडौं उपत्यकाबाट उत्कृष्ट वितरकको अवार्ड ‘ए मेरो हजुर–३’ बाट गोविन्द शाहीलाई, मोफसलका लागि उत्कृष्ट वितरकको अवार्ड छक्कापन्जा–३ बाट उज्ज्वल पौडेल र मनोज राठीलाई, उत्कृष्ट अवार्ड आयोजकको अवार्ड कामना फिल्मस अवार्ड रर चलचित्र पत्रकारिताको अवार्ड रजतपटका सचित खड्कालाई प्रदान गरियो । यो अवार्डको निर्णायकमा चलचित्र निर्देशकबाट सुवास गजुरेल, मदन घिमिरे, डब्बु क्षत्री तथा कलाकार र प्राविधिकहरू थिए ।
कार्यक्रममा संगीतकार तथा गायक चेतन सापकोटाले आफ्ना चर्चित तीन वटा गीत गाएर दर्शकलाई नचाए । यस्तै, गायिका मोनिषा आलेमगरले पनि आफ्ना गीतबाट दर्शकको मन जितिन् ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अग्रज अभिनेता भुवन केसीलगायतको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा विश्व कलाकार महासंघका ८० जना सिनेकर्मी, सामाजिक अभियन्ता, संगीतकर्मी लगायतलाई आजीवन सदस्यता प्रदान गरियो । गत वैशाखमा रसियामा आयोजना गर्न लागिएको यो अवार्ड नेपालमा कोरोना संक्रमणका नौ महिनापछि पोखरामा आयोजना गरिएको कार्यक्रम आयोजक तथा बक्स अफिल इन्टरनेसलन गु्रपका अध्यक्ष आरके (रामबहादुर) सुवेदीले कार्यक्रममा बताए । अवार्ड समारोहपछि शनिबार दिउँसो कलाकार र पोखराका निर्माण व्यवसायीबीच मैत्रीपूर्ण फुटलब खेल भएको थियो ।