काठमाडौ । मौसममा आएको बदलावसंगै काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ ।
बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेको भन्दै विभागले सकेसम्म घरमै बस्न आग्रह गरेको हो ।
‘श्वासप्रस्वासका बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं’, विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं उपत्यकाबाहेक नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले त्यहाँका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । साथै फोहोर बाल्दा र आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि विभागले आह्वान गरेको छ ।






